एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै

टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुदैछ ।

न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो।

यसअघि गत वैशाख २४ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले अर्को आदेश नभएसम्मका लागि एनसेलबाट कर नउठाउन भनेको थियो। यो रिटलाई टुंगो लगाउन जेठ २१ गते पूर्ण इजलासमा पेशी तोक्न पनि उक्त इजलासको आदेशमा उल्लेख थियो।

फैसलाले ब्याज र विलम्ब शुल्क तिर्नुपर्ने फैसला नगरेकाले १४ अर्ब ३६ करोडमात्रै तिरे पुग्ने एनसेलले जिकिर गरेको छ। त्यतिमात्रै कर निर्धारण गर्न आदेश माग्दै एनसेल सर्वोच्च गएको हो।