हाम्रो सहयोगी बचत तथा ऋण सहकारी पोखरा ९ पृथ्वीचोकको १० औं वार्षिकोत्सव सोमबा सकिएको छ । सहयोगीले ३ दिन विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सोमबार आयोजित वार्षिकोत्सव समापन समारोहमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सहकारीको माध्यमबाट उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । उनले विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट उद्यमशील बनी समृद्धि हासिल गरेको बताए ।
उनले सहकारीको निस्क्रिय पुँजीलाई उत्पादनमा जोड्नुपर्ने र उद्योगको विकासमा रुपान्तरण गर्नु आवश्यक भएको उल्लेख गरे । ‘कृयाशील पुँजी र उद्योग तथा कल कारखानाको अभावमा आयातीत बस्तुमा निर्भर रहनुपरेको छ,’ सभामुख अधिकारीले भने, ‘सहकारीको पुँजीलाई एकत्रित गरी उत्पादनको क्षेत्रमा लगानी गर्नु पर्छ ।’ उनले सरकार, निजी क्षेत्र र सहकारीको समन्वय र सहकार्य बवना मुलुकको आर्थिक प्रगति सम्भव नभएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले सहकारीलाई नीति नियम र कानुनमार्फत व्यवस्थित गरिने बताए । प्रदेश सभाले सहकारी ऐन बनाएको उल्लेख गर्दै उनले सहकारीको माध्यमबाट सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा राखे । अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले सरकारले सहकारीसँगको समन्वय र सहकार्यमा देशलाई समृद्ध बनाउने घोषणा गरेको बताइन् । सहकारीकर्मी समेत रहेकी उनले अन्य क्षेत्रमा पिछडिएका महिलाको सहकारीमा उल्लेख्य उपस्थिति रहेको बताइन् ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष राधिका शाही योगीले बचत तथा ऋण सहकारी भए पनि सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताइन् । पोखरा महागरका कार्यपालिका सदस्यसमेत रहेकी योगीले वृक्षारोपण, अन्तरसहकारी फुटसल, अन्तक्र्रिया जस्ता रचनात्क कार्य सहयोगीले गर्दै आएको उल्लेख गरिन् ।
कार्यक्रममा सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटा, सचिव नवीनकिरण भुषाल, निवर्तमान अध्यक्ष किसान सुनार, पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गिरीप्रसाद गुरुङ, लेखा समितिका संयोजक डिल्ली शर्मा, कार्यक्रम संयोजक शुक्रराज कँडेल, पवित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवबहादुर रानाभाट लगायतले बोलेका थिए ।
वार्षिकोत्वसको अवसरमा सोमबार भएको खुला रक्तदानमा ७२ युनिट रगत संकलन भएको छ । सहकारीले १० औं वार्षिकोत्सवको अवसरमा बेगनास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण, अन्तर सहकारी मैत्री पुर्ण फुटसल प्रतियोगिता र शेयर सदस्यहरुलाई सहकारी शिक्षाबारे प्रशिक्षण दिएको थियो । कार्यक्रममा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रथम भएको आयोजक हाम्रो सहयोगी सहकारीको टिमलाई पदक र सिल्ड प्रदान गरिएको छ ।




