कास्कीको रुपा गाउँपालिकामा कालोपत्रे चक्रपथ निर्माण सुरु भएको छ । रुपा ३ को टाकान्जा फाँट विजयचोकमा आइतबार कालोपत्रे चक्रपथ निर्माणका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरे ।
६५ किलोमिटर चक्रपथको १० किमि २ वर्षभित्र स्तरीय कालोपत्रे गर्ने गरी काम सुरु भएको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले गापाको योजना र डिपिआर अनुसार प्रदेश सरकारको बजेटबाट रिङरोड पिच गर्न लागेको जानकारी दिए । अध्यक्ष ओझाले काम भइरहँदा गुणस्तर हेर्ने, अनुगमन गर्ने काममा जनप्रतिनिधिलाई सघाउन स्थानीयसँग आग्रह गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँमा समृद्धि ल्याउन संघीयता आएको बताए । उनले पिच बाटो बनेपछि गाउँको उत्पादन सहर पठाउन पनि आग्रह गरे । बेलामै काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिँदै उनले सहयोगका लागि स्थानीयसँग अनुरोध पनि गरे । ‘काम नगरे व्यवसायी दण्डित हुनुपर्छ,’ उनले भने, ‘स्थानीयबाट अवरोध भए पनि सरकार टुलुटुलु हेरेर बस्दैन ।’
पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर सुमन गिरीले १९ करोड ७१ लाखमा निर्माण गर्ने गरी ठेक्का लागेको जानकारी दिए । ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्सले डिभिएसटी प्रविधिको पिच गर्ने गिरीले सुनाए । उनका अनुसार यो प्रविधि ओटासिलजस्तो होइन, त्योभन्दा धेरै स्तरीय हो ।
प्रदेश सभामा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको सडक पनि रुपामा पारेको स्मरण गरे । उनले रिङरोड बनाउन लाग्ने स्टिमेटभन्दा घटेर कबोल गरे पनि ठेकेदार कम्पनीले गुणस्तर कमसल गर्न नपाउने बताए । उनले चुनावमा उम्मेदवार हुँदाताका धुलेबाटोमा फेरि भोट माग्न नआउने गरेको बाचा सम्झेरै सडक पिच गर्न लागेको सुनाए ।
प्रदेश सभामा सत्तारुढ नेकपाकी सचेतक गायत्री गुरुङले आफू सधैं जनताको सुखदुखमा साथ रहने बताइन् । कास्की जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्रीले गाउँका उत्पादन सहर नलैजाउने बरु सहरबाट किन्ने गरे कंगाल भइने विचार राखे । रुपा गाउँपालिका उपाध्यक्ष लालसुवा गुरुङले स्थानीयका आवश्यकता पूरा गर्न गापा लागिरहेको बताइन् ।




