दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

बेलायती वायुसेवाको ब्रिटिस एयरवेजले दश वर्षपछि सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको एयरवेजले आजबाट उडान सुरु गरेको हो ।

इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गर्नेछ ।

बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन् । हालसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले मात्र दुबै मुलुकबीच सिधा उडान गर्दै आएको थियो ।

पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीहरुले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो । त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन् ।