दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा महिलालाई बस र मेट्रो सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन आयोजना गरी केजरीवालले अब केहि दिनमै महिलाहरू दिल्लीमा निःशुल्क यात्रा गर्न सक्ने घोषणा गरेका हुन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलनमार्फत महिलालाई उपहार दिंदै अब छिट्टै डीटीसी बस र क्लस्टर बस तथा मेट्रोमा निःशुल्क यात्रा गराउने जानकारी गराएका हुन् । केजरीवालले टिकट किनेर यात्रा गर्न चाहने महिलाले टिकट किन्न सक्ने पनि जानकारी गराए ।
केजरीवालले दुईदेखि तीन महिनाभित्र यो व्यवस्था लागू गर्ने बताएका छन् । दिल्ली सरकारका अनुसार यस वर्ष मात्रै यसमा ७ सयदेखि ८ सय करोड भारतीय रुपैयाँ खर्च हुनेछ । यो सबै दिल्ली सरकारले व्यहोर्ने बताइएको छ । उनले अधिकारीहरूलाई यसबारे बस तथा मेट्रोमा कसरी लागू गर्नेबारे प्रस्ताव तयार पार्न निर्देश गरेका छन् ।
केजरीवालले भनेका छन्, ‘यसमा केन्द्र सरकारको अनुमति आवश्यक छैन । बसमा सुरक्षाका लागि सीसीटीभी र मार्सल पनि राखिने छ ।’




