फिलिपिन्स राष्ट्रपति रोद्रिगो दुतेर्तेले आफू ‘विगतमा समलिङ्गी भएको र ‘उपचार’ गरेर ठीक भएको बताएका छन् ।
विभिन्न समय उट्पट्याङ अभिव्यक्ति दिइरहने दुतेर्तेले विहिबार टोकियोमा यो अभिव्यक्ति दिएका हुन् । जापानको भ्रमणमा रहेको दुतेर्तेले त्यहाँको फिलिपिनो समुदायको भेला सम्बोधन गर्ने क्रममा यो कुरा भनेका थिए । उनले विपक्षी नेता एन्टोनियो ट्रिल्लान्सलाई समलिङ्गी रहेको आरोप लगाएका थिए । दुतेर्तेले आफूले एन्टोनियोको समलिङ्गीपना महसुसनै गर्न सक्ने भन्दै त्यसको कारण खुलाउँदै भने, ‘मेरी पूर्व श्रीमती एलिजावेथ जिम्मरम्यानसँग विवाहित रहदाँ म पनि ‘अलि–अलि समलिङ्गी थिएँ ।’
वर्तमान श्रीमती हनीलेट एभान्सेनासँग भेट भएपछि समलिङ्गीपन समाधान गरेको बताए ।
‘त्यसपछि म पुनः पुरुष भएँ १ सुन्दर महिलाहरुको सहयोगले म ठीक भएँ,’ दुतेर्तेले भने ,‘त्यसपछि मलाई ह्यान्डसम पुरुषहरुले तान्न छाडे । अहिले म सुन्दर महिला तर्फ आकर्षित हुन्छु ।’
यस अघि दुतेर्तेले विभिन्न समयमा समलिङ्गी समुदायलाई लक्षित गरेर आपत्तीजनक टिप्पणी गर्ने गरेका थिए । उनले आफूलाई विरोध गर्नेहरुलाई समलिङ्गी बिल्ला लगाउने गरेका छन् ।
सन् २०१६ मा दुतेर्तेले एक भाषणका क्रममा फिलिपिन्सका लागि अमेरिकी राजदुतलाई ‘गे सन अफ वि८८’ भनेका थिए । उक्त विषय अमेरिकी राजदूतले अमेरिकास्थित फिलिपिन्सका दुतावासमा ध्यानाकर्षण गराएका थिए ।




