सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा लाई पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको आरोपमा वन कार्यालयले मेयरसहित ४ जनालाई तीन दिनअघि पक्राउ पुर्जी जारी गरेको हो ।
लिखित रुपमै आग्रह गर्दा समेत जनप्रतिनीधिले अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका ४ जना मध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य ,उनका छोरा सुशिलकुमार आचार्य,अन्य २ जना निर्माण समितिका पदाधिकारी रहेको डिभिजन प्रमुख सिंहले बताए ।
उनीहरु सप्तकोशी नगरपालिका १ स्थित अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न भएको वन कार्यालयको आरोप छ । नगरपालिकाको विकासीय काममा वन कार्यालयले अवरोध गरेको सप्तकोशी नगरपालिकाका मेयर शर्माको आरोप छ ।






