एक साता ठप्प जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले विरोध जनाएपछि विभिन्न सरोकारवाला पक्षविचको छलफलले प्रभावित बासिन्दाको माग माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो ।

उक्त आयोजना ठप्प बनेपछि आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक , प्रमुख जिल्ला अधिकारी ,स्थानीय जनप्रतिनिधिले शुक्रबार संयुक्त छलफल गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

आयोजनाले क्षतिपूर्तिको रकम दिन ढिलाइ गर्दा आन्दोलन भएको थियो । यसैगरी क्षति पुगेका छ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपूर्तिको रकम बुझेको बताइएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा १४ मेघावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।