मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाण्डुको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा एक हप्ताका लागी आइतबार भर्ना भएका हुन् ।

७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । निकै सक्रिय दिनचर्यामा रहेका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने जनाइएको छ ।

अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।