एक विद्यालयकी शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।
घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ। उपचारमा संलग्न डा.घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ।
जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए। शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्। शिक्षिका पुनको कुटाईबाट घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्मका १४ जना विद्यार्थी घाइते भएका छन्।





