श्रीमती र छोरालाई बेचेको आरोप लागेका दैलेखको भैरवी गाउँपालिकाका एक युवालाई जिल्ला अदालत दैलेखले ३८ वर्ष कैद फैसला सुनाएको छ। भैरवी गाउँपालिका ४ का २१ वर्षीय टेकराज पुरीलाई दैलेख जिल्ला अदालतले आइतबार तीन लाख २० हजार जरिवानासहित ३८ वर्ष ६ महिना कैद फैसला सुनाएको जिल्ला अदालत दैलेखका प्रवक्ता विनोद आचार्यले जानकारी दिए।
प्रेमविवाह गरी भारतको बैंगलोरमा लगेर २०७४ माघमा २ लाख २० हजार भारतीय रुपैयाँ बेचेको भन्दै २०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको मानव बेचबिखनसम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाइएको हो।
फैसला अनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१) वमोजिम १५ वर्ष कैद र एक लाख जरिवाना, सोही ऐनको दफा १५ (४) बमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७(१) बमोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको अदालतका प्रवक्ता आचार्यले बताए।





