बेगनास स्वास्थ्य केन्द्रलाई सहयोगीको अक्सिजन

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३१ स्थित बेगनास स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । सहकारीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो । सहयोग सामग्रीमा २ थान सिलिण्डरसहितको अक्सिजन ग्यास र निवलाइजर छ ।

संस्थाका अध्यक्ष शिव सापकोटाले वडाध्यक्ष कमलबहादुर थापामार्फत स्वास्थ्य केन्द्रका उपाध्यक्ष ढकनाथ कंडेल र स्वास्थ्य केन्द्र प्रमुख बलबहादुर गुरुङलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।

उक्त अवसरमा वडाध्यक्ष थापाले पोखरा ३१ सबै भन्दा बढी विकटको क्षेत्र भएको बताए । उनले वडाभित्रको विकास विस्तारै विस्तारै अघि बढेको भन्दै स्वास्थ्य केन्द्र आउने बाटो आगामी वर्षमा पिच र ढलान गर्ने बताए ।

सहकारीका अध्यक्ष सापकोटाले सहकारीको सहयोगको सही उपयोग हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

स्वास्थ्य केन्द्रका उपाध्यक्ष ढकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा चेम्बर एण्ड कमर्सका अध्यक्ष किसान सुनार, स्वास्थ्य केन्द्र प्रमुख बलबहादुर गुरुङ, कार्यक्रम संयोजक शुक्रराज कंडेल, स्थानीय युवा श्रीराम कंडेल लगायतले बोलेका थिए ।

सहकारीले १०औं वार्षिकोत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत शनिबार शेयर सदस्यलाई सहकारी शिक्षा तालीम प्रदान गरेको सहकारीले सोमबार रक्तदान कार्यक्रम आयाजना गरेको छ ।

फुटसल उपाधि सहयोगीलाई
सहकारीले आयोजना गरेको अन्तरसहकारी फटसल प्रतियोगिताको उपाधि सहयोगी बचत तथा ऋण सहकारीले जितेको छ । संगम साकोस सहकारीलाई पराजित गर्दै सहयोगीले उपाधि जितेको हो । प्रतियोगितामा आयोजक २ टिमससहित संगम, पृथ्वी, परिचय, कर्मशिल र रानीवन सहकारी सहभागी थिए ।