युमुना नन्द नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै सेनेटरी प्याड बनाउन सिकाएको छ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको उक्त विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो।
विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएकी थिइन् । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित सेनेटरी प्याड निर्माण समितिको सक्रियतामा करीब १५० वटा सेनेटरी प्याड निर्माण गरिएको छ।
प्याड निर्माणका लागि कपडालगायत आवश्यक वस्तु खरीद गर्नका लागि विद्यार्थी आफैँले प्रतिछात्रा रु २० का दरले रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताए। महिनावारी भएको समयमा कुनै पनि छात्रा विद्यालयबाट बञ्चित नहुन् भन्नका लागि विद्यालयमा प्याड बनाउन सिकाइएको उनको भनाइ छ।




