असारदेखि कर्मचारीलाई नियमित पोशाक ,नलगाउनेलाई हाजिरमा रोक

कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । तनहुँको भानु नगरपालिकाले कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरेको हो ।

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।

कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ ।

नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । भानुनगरपालिकाभित्र रहेका सबै कार्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरेको छ । भानु नगरपालिकामा रहेको १३ वटै वडा, स्वास्थ्य एकाइ कार्यालय, माध्यमिक विद्यालय २० वटा र चार प्राविधिक क्याम्पसमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।