म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।
पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुर्जाले बताए ।
हुमखोलादेखि आधार शिविरसम्म करीब १५ किलोमिटर पदमार्गलाई यसै आर्थिक वर्षभित्र फराकिलो बनाउने र सिँढी निर्माण गर्ने लक्ष्य छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट ठाउँमा पदमार्ग बनाउन गाउँबाट आवतजावत सम्भव नभएकाले जङ्गलमै बास बसेर काम गरिएको मजदुर लालबहादुर शेरपुञ्जाले बताए ।
सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्गोजले पहिलोपटक आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग विसं २०६८ मा स्थानीयवासीको पहलमा पहिचान भएको हो ।






