सहकारीले केही गरेन भन्ने सोचाईबाट मुक्त हुनुपर्छ : तिवारी

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्यो ।

सहकारीको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षाबारे प्रशिक्षण दिइएको हो ।
नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक नारायण प्रसाद आचार्यले सहयोगी सहकारीका शेयरधनीलाई सहकारी शिक्षाबारे प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षक आचार्यले सहकारीलाई सफल रुपमा सञ्चालन गर्न सहकारीका गतिविधि र यस सम्बन्धी जानकारी सबै शेयर सदस्यले राख्नुुपर्ने बताए । सहकारीले गर्नुपर्ने गतिविधिबारे पूर्णरुपमा जानकारी नराख्दा समस्या देखिने गरेको उल्लेख गर्दै उनले हरेक सहकारी संस्थाले समेत आफूले गर्ने गतिविधि र कार्ययोजनामा सचेत हुुनुुपर्ने सुझाव दिए ।

यसअघि तालिमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारीले केही गरेन भन्ने मान्यताबाट मुक्त हुँदै सहकारीले सबै काम गर्न सक्छ भन्ने सोंच राख्न आवश्यक रहेको बताए । ‘गण्डकी प्रदेशको कुल बजेट ३५ अर्व छ तर सहकारीको लगानी ६५ अर्व छ । यस्तो अवस्थामा सहकारीले केही गरेन भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।

केही सहकारी सञ्चालकको बद्मासीका कारण समग्र सहकारी क्षेत्र नै बद्नाम हुने गरेको भन्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । चामलमा १÷२ वटा बियाँ पर्यो भन्दैमा सबै चामल खराब नहुने भन्दै उनले यसमा राज्यले पनि ध्यान दिनुपर्ने बताए । राज्यले सहकारी दर्ता ऐन कडा खालको ल्याएर नियमन गर्नुपर्ने तिवारीको भनाइ थियो ।

उनले सहकारी सञ्चालकले दीर्घकालिनरुपमा सोच्नुपर्ने, कर्मचारी व्यवस्थापनमा ध्यान दिनुपर्ने र निर्धक्क भएर सहकारीमा लाग्ने वातावरण बनाउनुपर्ने बताए ।

संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष किशान सुनार, वरिष्ठ सल्लाहकार गिरी प्रसाद गुरुङ, उपाध्यक्ष राधिका योगी, लेखा समिति संयोजक डिल्ली शर्मा, स िचव नवीन किरण भुषाल लगायतले बोलेका थिए ।