सुश्री हरिकलाकी ‘छोरी’ सार्वजनिक

अढाइ दशक शिक्षणमा बिताएकी हरिकला गुरुङको परिचय थपिएको छ ः उपन्यासकार । उनको उपन्यास छोरी शनिबार सार्वजनिक भएको छ । अविवाहित हरिकलाले आफ्नो पहिलो कृतिलाई छोरी नाम दिएकी छन् ।

आँटीघर पैगीलामा समाजले शनिबार आयोजना गरेको कार्यक्रमा उपन्यास सार्वजनिक गरियो । हरिकलाले उपन्यासमा आफूले समाजको चित्रण गर्न खोजेको बताइन् । उनले पाठकको सुझावलाई मध्यनजर गरी अघि बढ्ने बताइन् । साहित्यकार एलबी थापाले नेपाली समाजमा नारीबारे विरोधाभाष रहेको बताए । उनले भने, ‘देखाउनलाई नारीलाई देवी भन्ने व्यवहार भने उल्टो छ । यही समाजको कुरीति छोरीको मुख्य विषयवस्तु हो । ’

गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुले त्यो बेला लेखिएको उपन्यास अहिले पनि समय सापेक्ष हुनुले समाजको रुपान्तरण भइनसकेको पुष्टि हुने बताइन् । उनले हरिकलाले नेपाली साहित्यमा थप योगदान गर्ने अपेक्षा पनि गरिन् । साहित्यकार फडिन्द्र अकिञ्चनले छोरी उपन्यास नारीको सहासको कथा भएको बताए । उनले सतिप्रथा अन्त्य भए पनि त्यो विभेदको रुपमा कतै न कतै नेपाली समाजमा बाँचिरहेको कथा उपन्यासमा भएको विचार राखे ।

समाजका अध्यक्ष क्याप्टेन धनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजबहादुर गुरुङ र क्याप्टेन नैनबहादुर गुरुङले पनि बोलेका थिए । ३ सय मूल्य रहेको कृति बिक्रीबाट जम्मा भएको सबै रकम समाजसेवामा खर्च गरिने बताइएको छ ।