स्वतन्त्र पत्रकार संघ कास्कीको ध्यानाकर्षण

स्वतन्त्र पत्रकार संघ कास्कीले चितवन जिल्लाको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अव्यवहारिक घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा रंगशाला निर्माण कार्य भइरहेको सन्दर्भमा यही ज्येष्ठ १६ गते केही विकास विरोधीको उक्साहटमा जुन दुःखद कार्य भएको छ त्यसप्रति संघले खेद व्यक्त गरेको हो । सरकारले गर्न नसकेको काम आफ्नो छाक कटाएर व्यक्तिले गर्न लागिरहेका वेला जुन हर्कत भयो उक्त निन्दनीय कार्यप्रति प्रशासन रमिते नबनेर दोषीलाई कडा भन्दा कडा कारवाही गर्न संघले माग गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभ्यास प्रशंसा योग्य ठहर गरेको छ । महासंघका विगतका अभ्यासलाई हेर्दा नेतृत्व चयनका सन्दर्भमा आएका नमीठा राजनीतिक गन्धका कारण संघ सचेत हुनुपर्ने अवस्था सिर्जना भएको जनाइएको छ । संघमा आवद्ध ८७ जना सम्पूर्ण सदस्यलाई समयमै आफ्नो सदस्यता नवीकरण गराउन अनुरोध गर्दै संघले शुद्धिकरणका नाममा दलीय भागवण्डा गर्दै टाउका गनेर भित्रबाहिर गरिने चलखेल हुन नदिन सम्पूर्ण श्रमजीवि पत्रकारलाई चनाखो हुन अनुरोध गरेको छ ।
संघको बैठकले संघका गतिविर्धि तीव्र पार्न विभिन्न सात उपसमितिसमेत गठन गरेको छ । संघले गाउँशहर कार्यक्रमका लागि उपाध्यक्ष तीलक थापा र सदस्य भरतराज तिवारी, स्कुल विद्यालय कार्यक्रमका लागि सचिव सुरेशराज अधिकारी र सदस्य डिल्लीराम काफ्ले, महिला परिचालन कार्यक्रमका लागि उपाध्यक्ष तिर्सना गुरुङ र सदस्य अम्बिका राणा, अर्थ व्यवस्थापनमा कोषाध्यक्ष ओमप्रकाश उपाध्याय र सहसचिव गंगासागर उपाध्याय, संघसंस्था समन्वयमा सागर कार्की र डिल्लीराम कार्की, तालिम व्यवस्थापनमा दीपेन्द पहारी र सूचना तथा प्रविधिमा पितमबहादुर सेनलगायतका पदाधिकारी संलग्न सात उपसमिति गठन गरेको छ ।
संघका अध्यक्ष असफल गौतमले शाखाले राष्ट्रिय समिति, नेपाल पत्रकार महासंघ अन्तर्गतका सम्पूर्ण कार्यक्रममा सक्रिय साथ, सहयोग र समन्वय रहने धारणा राखे । साथै, उनले बाह्र महिना बाह्र काम, सबै फरक–फरक ठाम नारा साथ संघले तय गरेका कार्यक्रम सफल पार्न सम्पूर्णको साथ, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
संघले संस्थाको कोषवृद्धिका लागि विभिन्न संघसंस्थासँग समन्वय गरी निःशुल्क तथा सशुल्क पत्रकारिता, नेतृत्व विकास लगायतका विविध तालिमसमेत सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आदर्श समाज दैनिकसँग सहकार्य गरी व्यवसायिक पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको सचिव सुरेशराज अधिकारीले जानकारी दिए ।
साथै, संघकोे बैठकले नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देल अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकामा उनको शीर्घ स्वास्थ्य लाभको कामनासमेत गरेको छ । असफल गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष तीलक थापाको स्वागत र सचिव सुरेशराज अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा विभिन्न उपसमितिका संयोजक र सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।