महिलालाई नयाँ मुलुकी ऐनबारे सचेतना

पोखरा १७ का विभिन्न महिला समूहलाई नयाँ मुलुकी ऐनबारे जानकारी दिइएको छ । छिमेकी आमा समूहको व्यवस्थापनमा पोखरा वडा नं. १७ ले शुक्रबार महतगौंडा, सीतापाइला र दोबिल्ला क्षेत्रका महिलालाई कानुनी ज्ञान दिएको हो ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महिलाको हक कानुनमा समान भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्थामा कानुनी सचेतनालाई महिलालाई जागरुक बनाउने बताए । उनले कानुनको अज्ञानता क्षम्य नहुने भएकाले कानुनबारे जानकार हुनैपर्नेमा जोड दिए ।

पोखरा १७ का वडा सदस्य तथा महानगरका कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले विकसित हुँदै गएका यी वस्तीमा सुन्दर सम्भावना पनि भएको बताइन् । उनले भनिन्, ‘कानुनबारे जानकार भएर आफ्ना हक, अधिकार र कर्तव्य थाहा नपाई सच्चा नागरिक बन्न सकिन्न । हामी सबै नागरिकलाई सचेत र जिम्मेवार बनाउने अभियानमा छौं ।

कार्यक्रममा अधिवक्ता शुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् । उनले फौजदारी र देवानी ऐनका प्रावधानबारे जानकारी दिँदै कानुनीबारे जानकार भएर जिम्मेवार नागरिक बन्न आग्रह गरिन् ।

वडा सदस्य बैकुण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शान्ताकुमारी गुरुङ, समाजसेवी प्रेम थापा, छिमेकी आमा समूहका अध्यक्ष विष्णुकुमारी थापा भुजेल र समृद्धि महिला समूहका सचिव अनिषा बरालले बोलेका थिए । सचेतना कार्यक्रममा समृद्धि महिला समूह, ढुंगेसाँघु सीतापाइला आमा समूह, जागरण आमा समूह, मिलनसार आमा समूह, शुक्लागण्डकी आमा समूहका करिब १ सय जना सहभागी थिए ।