ताजा समाचार

जेठ १७ गते २०७६

योग साधना निकै महत्वपूर्ण : आचार्य

पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्यले मानव स्वास्थ्य, वातावरण प्रदुषण, मानव व्यवहार तथा आचारणमा परिरहेको नकारात्मक असर न्यूनीकरण गर्न योग साधना निकै महत्वपूर्ण हुने बताएका छन् ।

पातञ्जल योग समिति कास्की र अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमको सहकार्यमा आयोजित योग शिविर उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले योग साधनामार्फत सही भोजन र व्यवहारमा पनि परिवर्तन ल्याउन आवश्यक रहेको स्पष्ट पारे । योग शिक्षा, योग साधनाको नियमितताका साथै स्वच्छ तथा पौष्टिक आहारमा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।
साथै उनले आगामी बजेटमा योग साधनालाई पनि प्राथमिकतामा र योग साधानाका लागि आवश्यक समान पनि उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

पातञ्जल योग समिति कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य एवं योग गुरु प्रदीपकुमार श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मणप्रसाद कोइराला, अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा सञ्चालक शारदा बस्नेत लगायतले हालको समयमा रसायनयुक्त खानेकुराले विभिन्न प्रकोप बढ्ने भन्दै यसको न्यूनीकरण आवश्यक रहेको बताए । उनीहरूले योग साधनाले नै मानव जीवनलाई सही मार्ग निर्देश गर्ने र सहज जीवन यापनमा भूमिका खेल्ने बताए ।

शिविरको कक्षा सञ्चालन समितिका केन्द्रीय सदस्य एवं योग गुरु प्रदीपकुमार श्रेष्ठले गरेका थिए । १ साता चल्ने शिविरमा ५५ जना सहभागी छन् ।