ताजा समाचार

जेठ १६ गते २०७६

कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै लामो केवलकार बन्ने

नेपालमा विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्ने भएको छ । मुक्तिनाथ केबलकार प्रा. ले उक्त लामो केवलकार कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्न लागेको हो ।

नेपालकै इतिहासमा नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागिरहेको केवलकार ८४.१ किलोमिटर लामो हुनेछ । यही केवलकार निर्माणको लागि सर्बेक्षण गर्नका लागि अष्ट्रेलियाको जहाज ४ दिन लगाएर नेपाल आइपुगेको छ ।

यो संगै अब केवलकारको डीपीआरको काम थालिनेछ । डीपीआर तयार गर्नका लागि नै जहाजमा आवाश्यक पर्ने उपकरण जडान गर्ने प्रक्रिया सुरु भएको छ । साथै जहाज उडाउँनका लागि पनि अनुमती लिने काम भईरहेको मुक्तिनाथ केबलकार प्रा. लिले जनाएको छ ।

डीपीआरका लागि नापी विभागका प्रतिनिधि र मुक्तिनाथ दर्शन प्रालिका प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा यात्रु चढ्ने र ओर्लने व्यवस्था गरिनेछ साथै बीचमा तिखेढुंगा, घासा र मार्फामासमेत यात्रु चढ्ने र ओर्लने सुविधा समेत रहने बताईएको छ । उक्त परियोजनामा निर्माणकालीन ब्याज बाहेकको परियोजना लागत ४३ अर्ब लाग्ने अनुमान गरिएको छ ।