ताजा समाचार

जेठ १६ गते २०७६

गण्डकीका महिला जनप्रतिनिधिको योगदान पुस्तकमा

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प)ले महिला जनप्रतिनिधिका योगदान र जानकारीलाई अभिलेखीकरण गरेको छ । संकल्पले प्रकाशन गरेको हाम्रा महिला प्रतिनिधि गण्डकी प्रदेश नामक पुस्तक बिहीबार सार्वजनिक भएको छ । पुस्तकमा गण्डकी प्रदेशबाट स्थानीय तहमा निर्वाचित १ हजार ६ सय १७ महिला जनप्रतिनिधि समेटिएका छन् ।

गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्मालगायतले पुस्तक सार्वजनिक गरे । पुस्तकमा गण्डकी प्रदेशमा स्थानीय तहमा निर्वाचित सबै महिला जनप्रतिनिधिको योगदान, मत, राजनीतिक र पारिवारिक अवस्था समेटिएको छ । उपसभामुख शर्माले संकल्पको अभियान प्रेरणादायी भएको बताइन् । उनले भनिन्, ‘अरुका संघर्षका कथा पढौं र अर्थ सहभागिताका लागि प्रतिश्पर्धामा जानसक्ने ऊर्जावान् बनौं ।’

संकल्पकी कार्यकारी निर्देशक चन्दा राईले लामो समय र अथक परिश्रमबाट पुस्तक तयार भएको बताइन् । उनले भनिन्, ‘महिलाका योगदानलाई पुस्तकको रुप दिने सपना साकार भएको छ ।’ संकल्प गण्डकी अध्यक्ष सावित्री खड्काले संविधानकै प्रावधानका कारण यति महिला चुनावबाट निर्वाचित भएको बताइन् । उनले भनिन्, ‘धेरैजसो जनप्रतिनिधिलाई फोन गर्दा फोन श्रीमान् वा छोराले उठाउने गरेको र जानकारी लिन पनि कठिन भएको थियो ।’ पोखरा १ की वडाध्यक्ष शारदा पराजुलीले महिलाले विभिन्न आन्दोलनमा उठाएका माग कानुनको कागजमा सिमित रहेकाले अब व्यवहारका कार्यान्वयन गर्न पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा पोखरा महानगरका कार्यपालिका सदस्य सन्तु सुवेदी, संकल्पका कार्यकारिणी सदस्य डा. छत्र अमात्य, मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जुना केसी लगायतले बोलेका थिए ।