फेरि भेटिइन् अर्की निष्ठुर आमा

भोजपुरमा एक आमाले २२ महिनाको छोराको घाँटी रेटी हत्या गरेको घटनाले स्तब्ध बनाइरहेका बेला फेरि अर्की आमाले आफ्नै शिशुको हत्या गरेकी छन् ।

सल्यानको दार्मा गाउँपालिका –३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुषसँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् । विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन् ।

नवजात शिशुको हत्याको खबर पाएपछि प्रहरीले आशा विकलाई पक्राउ गरेको र उनले हत्या गरेर गाडेको नवजात शिशुको शव उत्खनन गरेर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेकी विकलाई अहिले इलाका प्रहरी कार्यालय थारमारे राखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी गराए ।

हिजो मात्रै भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी थिइन् ।