ताजा समाचार

जेठ १५ गते २०७६

प्रेस युनियन कास्कीमा अर्को पुरस्कार !

प्रेस युनियन कास्कीले पत्रकार महिलाका लागि शारदा स्मृति महिला पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील महिला पत्रकारको प्रोत्साहनका लागि प्रेस युनियन कास्कीले पुरस्कारको घोषणा गर्ने लागेको हो ।

उक्त पुरस्कारबाट गण्डकी प्रदेशमा क्रियाशील महिला पत्रकारमध्येबाट प्रत्येक वर्ष १ जना महिला पत्रकार पुरस्कृत हुनेछन् । पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहनेछ । युनियन कास्कीले केही वर्षदेखि शान्ति पत्रकारिता पुरस्कार र प्रेस युनियन पत्रकारिता पुरस्कार सञ्चालन गर्दै आएको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले युनियन पत्रकारको हितका लागि सदैव क्रियाशील रहने भन्दै आफ्नो टिम नयाँनयाँ योजनासहित अगाडि बढ्ने बताए ।

पुरस्कार संस्थापक समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष विमला भण्डारीले महिला पत्रकारलाई पत्रकारितमा प्रोत्साहन गर्न पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । गण्डकी प्रदेशमा लामो समयदेखि क्रियाशील महिलाका लागि प्रदान गरिने यो नै सबैभन्दा ठूलो राशीको पहिलो पुरस्कार समेत भएको उनले बताइन् ।

प्रतिनिधिसभाका सांसद समाजसेवी उद्योगपति सूर्यबहादुर केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसीको परिवारद्वारा स्थापित पुरस्कार स्व. शारदा केसी रोकाहाको स्मृतिमा स्थापना गरिएको हो । पुरस्कारको अक्षयकोष रु ६ लाख रुपैयाँको छ । महिला पत्रकारलाई आफ्नो कार्यक्षेत्रमा प्रोत्साहन गर्नका लागि यो पुरस्कार स्थापना गरेको केसीले बताए ।

पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पु¥याउनका लागि पुरस्कारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।

युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले युनियनले आफ्नो संगठन विस्तारसँगै महिलालाई पत्रकारिता क्षेत्रमा अग्रसर बनाउन यो पुरस्कार कोषेढुङ्गा साबित हुने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बाँस्तोलाले महिला पत्रकारलाई सम्मान गर्नका लागि पुरस्कार स्थापना गरेर केसी परिवार र प्रेस युनियन कास्कीले निकै प्रशंसनीय कार्य गरेको बताए ।

युनियनका सचिव प्रदीप पौडेलका अनुसार पुरस्कारको घोषणा छिट्टै हुँदैछ । केही दिनमै औचारिक समारोहका बीच पुरस्कार घोषणा गरिने उनले बताए ।