ताजा समाचार

जेठ १५ गते २०७६

सिसी टिभीको प्रभाव : आपराधिक घटना कम हुदै

सिसी टिभी जडान गरेपछि तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ ।

डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।

क्यामेरा राखेपछि चोरी, डकैती लागु औषध जस्ता आपराधिक घटना ९० प्रतिशत कम भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । सवारी साधनको अत्यधिक चाप हुने बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । अहिले डुम्रेमा यस्ता घटना न्यून हुनुका साथै धेरै जसो दोषी पक्राउ गर्न प्रहरीलाई सहज भएको छ ।

करिब तीन महिना अघि तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको सक्रियतामा बजार क्यामेराको निगरानी राखिएको हो । सिसी टिभी फुटेजको आधारमा फागुन १९ गते पिक्तललाई सुन भनेर तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा ठग्ने एक जना महिलालाई प्रहरीले पक्रन सफल भएको थियो ।