ताजा समाचार

जेठ १४ गते २०७६

हिरासतमा साथी भेट्न जाँदा उल्टै पक्राउ

हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले लागुऔषध राखेर चाउचाउ लगेको थाहा पाएपछि पक्राउ परेका हुन् ।

लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका कालिकोटका नवीन शाहीलाई भेट्न ललितपुर ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बु सोमबार महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा पुगेका थिए।

नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ। लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए।

प्रहरीले शंका लागेर खोलेर हेर्दा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।