ताजा समाचार

जेठ १४ गते २०७६

पुर्वमा किन भयो पेट्रोलियम पदार्थको हाहाकार ?

पूर्वमा अहिले पेट्रोलियम पदार्थको हाहाकार भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बंगालको पानीट्याङ्की भन्सारमा रोकेपछि पुर्वमा पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलबाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए।

उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन्। यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरू बन्द भएका छन्।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ। सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्यांक राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ।