ताजा समाचार

जेठ १२ गते २०७६

विन्ध्यवासिनी क्याम्पस प्रमुखमा झना खड्का केसी

विन्ध्यवासिनी क्याम्पस वाटुलेचौर पोखराको क्याम्पस प्रमुखमा झना खड्का केसी नियुक्त भएकी छन् । खड्कालाई शनिबार पदस्थापन गराइएको छ ।

क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष सोमनाथ अधिकारी प्यासी र अध्यक्ष दानबहादुर वानियाँले संयुक्त रुपमा उनलाई पदस्थापन गराएका हुन् । क्याम्पस प्रमुख नरहरि भट्टराईले राजीनामा दिएपछि खड्का क्याम्पस प्रमुख बनेकी हुन् ।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका प्रमुख रामप्रसाद पौडेलको संयोजकत्वमा गठित पदपूर्ति समितिले खड्कालाई सिफारिस गरेको थियो । नेकपा नेता सोमनाथ अधिकारी प्यासीले नवनियुक्त क्याम्पस प्रमुखलाई प्राप्त जिम्मेवारीलाई चुनौती र अवसरको रुपमा भरपुर उपयोग गर्न सुझाव दिए । नवनियुक्त क्याम्पस प्रमुख खड्काले जिम्मेवारीलाई आत्मासात गर्दै प्राज्ञिक उन्नयनमा योगदान गर्ने प्रतिवद्धता गरिन् ।

कार्यक्रममा विन्ध्यवासिनी माविका प्राचार्य कृष्णप्रसाद आचार्य, क्याम्पस प्रमुख नरहरि भट्टराई, क्याम्पस सञ्चालक समिति अध्यक्ष दानबहादुर वानियाँ र शिक्षक खिमलाल अधिकारीले बोलेका थिए ।