ताजा समाचार

जेठ ११ गते २०७६

जसले हराइन् कांग्रेसकै गढमा राहुल गान्धीलाई

भारतमा भर्खरै मात्र सम्पन्न भएको चुनावमा कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई हराएकी भाजपाकी नेतृ स्मृती इरानीको चर्चा एकाएक चुलिएको छ । उनले कांग्रेसको पुस्तैनी क्षेत्र मानिएको अमेठीमा भारी मतले राहुल गान्धीलाई हराएकी थिईन् । उनले सो क्षेत्रमा राहुल गान्धीलाई हराउँलिन् भनेर सायदै कसैले सोचेका थिए होलान् तर नतिजा भिन्न आयो । कांग्रेसको गढ मानिएको अमेठीमा राहुललाई २ लाख भन्दा बढि मतले पराजित गरेपछि उनी थप चर्चामा आएकी हुन् । उनले त्यहाँ चुनावी प्रचारप्रसारको दौरान कांग्रेसको गढ भए पनि त्यहाँको बिकास र समृद्धीका लागि कांग्रेसले केही नगरेको बताउँदै आएकी थिईन् ।

को हुन स्मृती इरानी ?
कुनै समय टेलिभिजनको पर्दामा चर्चित हस्ती थिईन स्मृती इरानी । “क्योँकि सास भी कभी बहु थी” लगायतका टेलिश्रृङखलाहरुमा अभिनय गरी दर्शकहरुको मन जितिसकेकी स्मृती इरानी एकाएक सन् २००३ मा भाजपामा सामेल भईन् र सक्रिय राजनिती गर्न थालिन् । कुनै समय यस्तो दिन पनि थियो की उनले नरेन्द्र मोदीविरुद्ध अनशन बस्न समेत आह्वान गरेकी थिईन् । सन् २००४ मा भाजपाले उनलाई पार्टीको टिकटमा दिल्लीको चाँदनी चोकमा उम्मेद्वार बनायो । उनी त्यहाँ पराजित भईन् । त्यतिबेला उनले गुजरात दङ्गाको विषयमा तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै अनशन बस्ने चेतावनी दिएकी थिईन् । चुनावमा पराजित भए पनि उनलाई केन्द्र सरकारमा मन्त्री बनाइयो। त्यसलगत्तै उनको शैक्षिक योग्यताबारे विवाद भएको थियो । जब स्मृती इरानी सूचना प्रसारण मन्त्रीमा नियुक्त भइन् तब पनि विवादले कहिल्यै छोडेन । पद सम्हाले लगत्तै उनले मन्त्रालयका तीन दर्जनभन्दा धेरै अधिकारीहरूको सरुवा गरिन्। ती मध्ये केही त थोरै समयपश्चात् अवकाश पाउन लागेका समेत थिए।

यो विवाद चर्किएपछि इरानीले गलत रिपोर्टिङ गर्ने पत्रकारलाई सजाय दिने गरि सर्कुलर जारी गर्दिन्। पत्रकारहरूले विरोध गरेपछि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप गरेर सर्कुलर फिर्ता भयो। यस्तै विवादका बीच पनि उनले सक्रिय राजनिती गर्न छोडिनन् । उनलाई राजनितीमा ल्याउने काम प्रमोद महाजनले गरेका थिए । सन् २००६ मा महाजनको हत्या भएपश्चात् उनको राजनितीक यात्रामा केही कम आयो । केही समयसम्म उनले पार्टीभित्र मौनतापूर्वक काम गरिरहिन् र सँगसँगै वाक्पटुताका कारण भिन्न परिचय बनाउँदै गइन्।सन् २०१० मा नितिन गडकरी भाजपाका राष्ट्रिय अध्यक्ष बनेपछि स्मृतीलाई पार्टीको महिला मोर्चाको जिम्मेवारी दिइयो।

अर्को वर्ष उनी गुजरातबाट राज्यसभामा सांसद चुनिइन् र प्रदेशको राजनीतिमा सक्रिय भइन्। त्यसपछि भने उनी मोदीको ठुलो प्रशंसक बनेकी थिईन् । प्रखर रूपमा बोल्न सक्ने कौशलका कारण उनलाई पार्टीको राष्ट्रिय प्रवक्ता बनाइयो। टेलिभिजन च्यानलहरूमा बोल्न थालेपछि उनी फेरि चर्चित हुन थालिन्। उनको राजनितीक जीवनमा धेरै आरोह अवरोहरु आए तर राजनितीमा उनको वाक्पटुताको प्रयोग र कुटिलताको कारण उनले अमेठीमा अरुले अनुमान समेत नगरेको नतिजा दिएकी छिन् । कांग्रेसकै गढमा अध्यक्षलाई नै हराएपछि भने उनको चर्चा भारतीय राजनिती क्षेत्रमा थप चुलिएको छ ।