ताजा समाचार

जेठ ११ गते २०७६

सिक्किममा गोले नै मुख्यमन्त्री

२५ वर्षदेखि मुख्यमन्त्री रहेका पवन चाम्लिङलाई हराएर प्रेम सिंह तामाङ (पिएस गोले) मुख्यमन्त्री बन्ने भएका छन् । भारतको नेपाली भाषी राज्य सिक्किमको नयाँ मुख्यमन्त्री सिक्किम क्रान्तिकारी मोर्चाका नेता गोले नै निश्चित भएको हो । गोलेले मंगलबार मुख्यमन्त्रीको सपथ लिने तय भएको छ ।

भ्रष्टाचार आरोपको मुद्दा खेपेका गोले मुख्यमन्त्री हुन सक्छन् कि सक्दैनन् भन्ने विवाद देखिएका बेला सिक्किमका गभर्नरले शनिबार उनलाई मुख्यमन्त्री बन्ने बाटो खेलिदिएका हुन्। उनले १६ विधायकसहित शनिबार गभर्नरलाई भेटेर सरकार बनाउन दाबी पेश गरेका थिए । निर्वाचनमा गोले उम्मेदवार थिएनन् । भारतीय कानुन अनुसार निर्वाचित नभए पनि मुख्यमन्त्री बन्न मिल्छ तर ६ महिनामा निर्वाचित हुनुपर्छ ।

बिहिबार सार्वजनिक भएको मत परिणाम अनुसार गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेको थियो । १५ सिटमा चित्त बुझाएर अहिलेका मुख्य मन्त्री पवन चाम्लिङ प्रतिपक्षमा पुगेका छन् ।

गोलेको पार्टीबाट २ क्षेत्रबाट निर्वाचित विधायक कुंगानिमा लेप्चाले १ स्थानबाट राजीनामा दिएर त्यहाँबाट गोले निर्वाचित हुने अनुमान गरिएको छ ।