पोखरा रोयल सहकारीको वार्षिकोत्सवमा रक्तदान

पोखराको बुद्धचोकस्थित पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सहकारीको खुला रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा १ सय २ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफस्कुन अध्यक्ष डिबी बस्नेतले संस्थाका मुख्य प्रबन्धक मीलन ढकाललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । ढकालले यसअघि २५ पटक रक्तदान गरिसकेका छन् ।

संस्थाले मधुमेह सम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रममा डा. सरोज पोखरेलले मधुमेह सम्बन्धी प्रशिक्षण दिएका थिए । रोगका लक्षण, स्वास्थ्यमा पार्ने असर साथै नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारेमा उनले जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि डिबि बस्नेतले सहकारी संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नभएर सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने बताए ।

‘समुदायमा आधारित रहेर सहकारी संस्था सञ्चालन गर्नुपर्छ,’ उनले भने । रक्त सञ्चार केन्द्र कास्कीका ध्रुवमणि लमिछानेले हरेक व्यक्तिले ९० दिनको फरकमा रक्तदान गराउँदा स्वास्थ्यमा समेत राम्रो हुने बताए ।

सोही अवसरमा संस्थाबाट नियमित प्रकाशन हुने सहकारी समाचार वुलेटिन विमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङले स्वागत र सचिव भीमबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

सहकारीको प्रधान कार्यालय वुद्धचोकसहित महेन्द्रपुल सेवा केन्द्र र लेखनाथ सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थामा ५ हजार २ सय ४३ जना सदस्य, १८ करोड ४९ शेयर, १ अर्ब १९ करोड बचत, १ अर्ब २१ ऋण रुपैयाँ लगानी छ । विभिन्न कोषमा १४ करोड गरी १ अर्ब ६६ करोड कुल सम्पत्ति रहेको सचिव भीम गुरुङले जानकारी दिए ।