ताजा समाचार

जेठ ८ गते २०७६

त्रिदिवसीय जेसीस वीकइण्ड हुँदै


पोखरा जेसीसले यसवर्षको जेसीस वीकइण्डको तयारीलाई तीव्र बनाएको छ । जेसीस वीकइण्ड तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम यही जेठ १० गतेदेखि १२ गतेसम्म त्रिदिवसीय रुपमा गरिने बुधबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बर्ष २०१९ को ‘सकारात्मक प्रभावका लागि एकता भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तर्गत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व विषयक परामर्श कार्यक्रम आयोजना गरेर ‘जेसीस वीकइण्ड’ मनाइने कार्यक्रम मूलसंयोजक मोहनप्रसाद अधिकारीले जानकारी दिए ।

जेठ १० गते कार्यक्रमको औपचारिक उद्घाटन गरिने जेसीस वीकइण्डको पहिलो दिनको कार्यक्रम स्थानीय क्षेत्रमा रहेका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीलाई लक्षित गरेर कार्यशाला गोष्ठीको आयोजना गरिनेछ ।

कार्यशालामा जलमहल रिसोर्ट पोखराका डा. दिनेश प्रसाइँ र कपिल तमोटले सहजीकरण गर्नेछन् । कार्यक्रमको संयोजन बिनु श्रेष्ठले गर्नेछिन् । यस्तै दोस्रो दिन जेठ ११ गते अन्नपूर्ण गाउँपालिकाका स्थानीयलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ ।

अन्नपूर्ण गाउँपालिका संगको समन्वय तथा कास्की सेवा हस्पिटल, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा हुने शिविरकोे संयोजन गणेश गिरीले गर्नेछन् ।
वीकइण्डको अन्तिम दिन जेठ १२ गते पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समूह, स्कुल, शिक्षक/शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व विषयक परामर्श कार्यक्रम गरिनेछ ।

अन्तिम दिनको कार्यक्रमकोे सहजीकरण मदरल्याण्ड माविका सञ्चालक प्रेमनारायण पोख्रेलले गर्नेछन् भने कार्यक्रमको संयोजन कमलराज पराजुलीले गर्नेछन् ।
सोही दिन वीकइण्डको समापन गरिने संस्थाका अध्यक्ष सन्तोष शाहीले जानकारी दिए । उनले यस कार्यक्रमलाई पर्वको रुपमा मनाइने स्पष्ट पारे । कार्यक्रम सम्पन्न गर्न ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।