ताजा समाचार

जेठ ८ गते २०७६

इकोल्लु श्रीनिवास !

श्रीमान लोकतन्त्र
म इकोल्लु श्रीनिवास
आन्ध्र प्रदेश
ज्यालादारी मजदूर !

दूर्घटनाको गहिरो चोट छ टाउकामा
र उपचारको विल छ एक लाख अठ्ठाइस हजार
मसँग उठ्ठाइस पैसा पनि छैन
तर,
अझै मसँग छन् मेरा केही अङ्गहरू
जसलाई झिकेर तिमी लैजान सक्छौ
र लगानी असुल उपर गर्न सक्छौ
मर्नुअघि,
तिम्रो नोक्सानीलाई भर्पाई गर्न
म खुसी खुसी तयार छु
ता कि,
यही विलको कारण
मेरो लास अस्पतालमा नकुहियोस
या मेरा परिवारले
यही विलको कारण अपमान नभोगुन !

श्रीमान लोकतन्त्र,
म अझै सास फेर्दै छु , समय छ
ढिला नगर , कैंची चलाऊ
पेट चिर र मृगौला झिक
कैंची चलाऊ यी आँखा पनि झिक
अँ आँखा झिक्नुअघि
मेरी अरुणालाई बोलाइदेऊ
म उसलाई अन्तिम पटक हेर्छु
अन्तिम…..पटक !

श्रीमान लोकतन्त्र ,
म इकोल्लु श्रीनिवास
नाथे एउटा ज्यालादारी मजदूर
तिम्रो व्यवस्थामा
मजस्ता गरीवको के मूल्य
चलाऊ छुरा चलाऊ
र आफ्नो डुवेको लगानी फिर्ता गर !

तर, श्रीमान लोकतन्त्र
मेरा यी आँखाहरू
जसलाई लगाउँने छौ तिमी
तिनीहरूले देखिरहने छन-
तिम्रो असली अनुहार
जुन अनुहार
असंख्य इकोल्लु श्रीनिवासहरूको रगत नै रगतले लत्पतिएको छ ।

प्यारी अरुणा
हेर तिम्रो अभागी लोग्नेलाई हेर
मेरा नानीहरूलाई भनिदेऊ-
तिम्रो बाबाले
अस्पतालको विल तिर्न
हत्या स्विकार गर्यो र मर्यो
अस्पतालका डाक्टरहरूले
हाँसिहाँसि छुरा चलाए
तिनीहरू डाक्टर थिएनन्, हत्यारा थिए
मजदूरहरूका हत्यारा !

श्रीमान लोकतन्त्र ,
आयु त तिम्रो पनि लामो छैन
मेरा आँखा र मृगौलाले
कति दिन बचाउला तिमीलाई ?

२०७६|०२|५