ताजा समाचार

जेठ ८ गते २०७६

मुस्ताङ : यार्सा लेंकमा समितिको निगरानी

मुस्ताङका लेंकहरुमा यतिबेला यार्सा संङ्कलन सुरु भएको छ ।यार्साका लागि बिभिन्न जिल्लाबाट आएका सर्वसाधारणले लेंकको चहलपहल बढेको हो ।गैर काष्ठ तथा बनपैदावारको रुपमा परिचित हिमाली लेंकमा पाईने महत्वपूर्ण जटिबुटी यार्सा खोज्न यसवर्ष पनि सर्वसाधारणको भीड लागेको छ ।


यसपालि अन्नपूर्ण संरक्षण आयोजना एक्याप निकट सहयोगी संरक्षणक्षेत्र व्यवस्थापन समितिहरुले आ–आफ्ना लेंकहरुमा धमाधम यार्सा गुम्बा संकलन पूर्जी फुकुवा गर्न थालेका छन् ।पूर्जी फुकुवा गर्दा समितिले लेंकमा हुने अवैध गतिबिधि रोक्न र सरकारले तोकेको कानुनको प्रावधानमा रहेर यार्सा संकलन पूर्जी वितरण गर्दैछ । यार्सा संकलन कर्ताको यथेष्ठ प्रमाणिकरण विवरणसहितको कागजपत्र पेश गरेपछि मात्र अनुमति दिने व्यवस्था मिलाएको हो ।

यसवर्ष देखि यार्सा संकलनकर्ताको लेंकमै निगरानी गर्ने समितिले जनाएको छ ।समितिका अनुसार संकलनकर्ताको दैनिक गतिविधि संङ्कास्पद देखिएमा उक्त व्यक्तिलाई एक्याप तथा प्रहरीको जिम्मा लगाईने छ । यार्सा गुम्बा खोज्न स्थानीय र जिल्ला बाहिरबाट धादिङ,मुगु,म्याग्दी,रुकुम र बाग्लुङ लगायतका स्थानबाट उल्लेख्य सर्वसाधारण मुस्ताङ आईरहेका छन् ।वर्सेनि बैशाख महिना देखि असार मशान्त सम्म यार्सा गुम्बा खोज्ने सिजन मानिन्छ ।यार्सा खोज्ने उपयुक्त समय छोपेर मुस्ताङ आएका सर्वसाधरणको लर्कोले यहाँको लेंक लेंकमा चहलपहल ह्वात्तै बढेको हो ।


यार्सा खोज्न महिनौ सम्म लेंकमा पाल टागेर बस्नुपर्ने भएकाले संकलनकर्ताहरु खाद्यान्न लगायतका अन्य बन्दोवस्ती सामान लिएर लेंकमा पुग्छन् ।यार्सा खोज्न लेक पुग्नेहरुका लागि लक्षित गर्दै कतिपयले लेंकमा अस्थायी टहरा बनाएर पसल चलाएका छन् ।यार्सा खरिद गर्न व्यापारीहरु लेंकमा धाउने गरेको पाईएको छ ।यार्सा गुम्बा हिउदयाममा झुसिल्किरा हुने त्यसपछि बिकसित हुदै वर्षायाममा घाँसको रुपमा देखा पर्छ ।

उच्चलेंकको जमिनको सतहबाट क्रमशः बिकसित हुने भएकाले यार्सा संकलन गर्न उक्तिकै कठिनाई छ ।गत वर्ष प्रति यार्सा ५ सय देखि ९ सयसम्म बिक्री भएको थियो ।वर्सेनि यार्साको भाउ तलमाथि हुने यार्सा संकलक जेबिल गुरुङले बताए ।


मुस्ताङको कोवाङ,कुञ्जो ,टुकुचे,जोमसोम,झोङ र मुक्तिनाथ लगायतका लेंकमा यार्सा पूर्जी फुकुवा भईरहेको छ ।संकलनका लागि संम्वन्धित लेंकका समितिले आफ्ना लेकमा पाईने यार्साको अवस्थालाई प्राथमिकतामा राखेर फरक पूर्जी शुल्क तोकेको छ ।मुस्ताङमा यार्सा पूर्जीका लागि प्रतिव्यक्ति १ हजार देखि ५ हजार सम्म शुल्क तोकिएको पाईएको छ ।स्थानीयलाई सहुलियत स्वरुप कम शुल्क र जिल्ला बाहिरका यार्सा संकलनकर्ताले केही बढी शुल्क तोकिएको समितिहरुले जनाएका छन् ।


यसवर्ष हिउँकै कारण अपेक्षा गरेअनुसारको यार्सा संकलनक नहुने यार्साकर्मी बताउछन् । मुस्ताङमा ८–९ पटक सम्म यो सिजन भारी हिउँ प¥यो । मुस्ताङका यार्सा पाईने लेंक सबै सेताम्मे भए ।लेकमा परेको हिउँ अझै पुरै पग्लिएको छैन ।हिउँकै बढी चिस्यानले यार्सा गुम्बा फस्टाउन नसक्ने उनीहरुको भनाई छ ।मुस्ताङको यार्सा पाईने लेंकमा अझै हिउँ जमेको जोमसोमका यार्सा संकलनकर्ता जेबिल गुरुङले जानकारी दिए ।गुरुङ पहिलो पटक लेंक पुगेर फर्किएका हुँन् ।उनी पूनः तेश्रो साता मात्रै यार्सा खोज्न लेंक जाने बताउछन् ।हिउँले गर्दा गतवर्ष भन्दा यसवर्ष यार्सा पाईन छाडेको उनको दावी छ ।


स्थानीय स्तरमै यार्सा खरिद बिक्री गर्नमा कुनै कठिनाई छैन ।एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालका अनुसार संकलित यार्सा गुम्बा ओसार–पोसार गर्न कानुन बमोजिम राजश्व बुझाएपछि एक्यापले छोडपूर्जी उपलब्ध गराउने जानकारी दिए ।उनले छोडपूर्जी बिना कुनै व्यक्तिले अवैध ओसार –पोसार गरेको पाईएमा प्रचलित कानुन अनुसार कारवाही हुने जनाए ।


मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका अध्यक्ष घिर्मी गुरुङले लेंकमा हुने हानीनोक्सानीलाई मध्यनजर गर्दै समितिले उच्चसर्तकता अपनाएको बताए ।उनले संम्भावित बन्यजन्तु तस्करी,आगोलागी र अवैध क्रियाकलाप रोक्न संयन्त्र परिचालन गरेको उल्लेख गरे ।कोवाङ संरक्षण व्यवस्थापन समितिका अध्यक्ष जीवन थकालीले यार्सा संकलन पूर्जी वितरण गरेपछि करिव १ सय ५० सर्वसाधारण लेंकमा पुगेका बताए ।जोमसोम संरक्षण व्यवस्थापन समितिका सचिव पवन गुरुङले जोमसोम लेंकमा स्थानीयलाई मात्र संकलन पूर्जी वितरण गरेको बताए ।

केही वर्षअघि यार्सा संकलनकर्ताबाट आगोलागी भएपछि गैर व्यक्तिलाई पूर्जी निषेध गरेको जानकारी दिए । यार्सा गुम्बाका संकलनका लागि मुस्ताङसहित मनाङ र डोल्पा लगायतका जिल्लामा पनि सर्वसाधारणको लर्को लागेको पाईएको छ ।शारिरीक तथा मानसिक स्फूर्तिका रुपमा यार्सा गुम्बा महत्वपूर्ण जटिबुटी मानिएको छ ।

विश्वमै यसको माग बढेको छ ।बिशेषगरी यार्सालाई हिमाली भियाग्रा भन्ने गरिन्छ ।सेक्स पावरको रुपमा प्रयोग हुने यार्साबाट विभिन्न बिकशित देशहरुले सेक्स औषधि तयार पारेका छन् ।