ताजा समाचार

जेठ ७ गते २०७६

पोखरामा भैरहेको सैन्य अभ्यास रोक्नुपर्छ

नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन्।

उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्।

पोखरामा केही दिनदेखि १३ देशका सैनिक विपद्‍ व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन्। नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो।

यो सैन्य अभ्यासलाई लिएर चीन लगायतका देशले विरोध गरिरहेका छन्। अमेरिकाले विपद्‍ व्यवस्थापनको नाममा सैन्य अभ्यास सञ्चालन गरेकोमा चीन लगायत शक्ति राष्ट्रले विरोध जनाइरहेका हुन्।