ताजा समाचार

जेठ ७ गते २०७६

११ हजार कर्मचारीका लागि लोकसेवा आयोगले विज्ञापन खुलाउदै

स्थानीय तहमा आवश्यक ११ हजार पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाएको थियो ।

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषदबाट लोकसेवाको बाधा अड्काउ फुकाउ प्रस्ताव पारित भएको हो । अब लगत्तै लोकसेवा आयोगले ११ हजार पदमा विज्ञापन गर्नेछ ।

लोकसेवा आयोगले ती पदमा भर्ना खुलाउनेसम्बन्धी गृहकार्यलाई तीव्र पारेको छ । सम्भवत भोलि वा अर्को बुधबार आयोगले दरखास्तका लागि सूचना निकाल्ने स्रोतको भनाइ छ ।