ताजा समाचार

जेठ ६ गते २०७६

विन्ध्यवासिनी मन्दिर परिसरमा लायन्सको शौचालय

पोखराको विन्ध्यवासिनी मन्दिर हाताभित्र अपांगमैत्रीसहितको शौचालय निर्माण भएको छ । पोखरामा क्रियाशील ४ वटा लायन्स क्लबको सक्रियतामा निर्मित शौचालय सोमबार हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीको सक्रियतामा ६ लाख ७५ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाले जानकारी दिइन् ।

शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई हस्तान्तरण गरे ।

उक्त अवसरमा गभर्नर श्रेष्ठले मानिसले दान गरेर कहिल्यै नसकिने भन्दै सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मानिसले केही लिएर नआएको र लिएर जाने पनि केही छैन । त्यसैले जतिसक्दो धेरै सहयोग गर्नुपर्छ ।’ सबैले सबैलाई दिएर बाँच्ने नीति अवलम्वन गर्नुपर्ने उनले बताए ।\

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ शौचालय निर्माण गरिदिने लायन्स क्लबहरू प्रति आभार व्यक्त गरे । उनले सबैको साथ र सहयोग लिएर विन्ध्यवासिनी मन्दिरलाई नेपालकै नमूना बनाउने प्रयत्न गरिएको बताए ।
लायन्सका मूल्यांकन कमिटीका संयोजक तीर्थलाल श्रेष्ठले लायन्सको निःस्वार्थ भाव शौचालय निर्माणले पनि झल्काएको बताए ।

रिजन चियर पर्सन जगन्नाथ तिमिल्सिनाले लायन्स विश्वकै उत्कृष्ट सामाजिक संस्था भएको बताए ।

समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन विन्दु श्रेष्ठले स्वागत, लायन्स क्लब अफ लेकसाइडका अध्यक्ष बलराम पहारीले धन्यवाद ज्ञापन र लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीका अध्यक्ष गोविन्द देवकोटाले सञ्चालन गरेका थिए ।
उक्त अवसरमा शौचालय निर्माणमा महत्वपूर्ण भूमिका खल्ने ई. सुजित विजुक्छेलाई सम्मान गरिएको थियो ।