मिमबहादुरको परिवारलाई बागलुंगेको साथ

मिमबहादुर श्रीस कुनै बेला दुःखी, गरिबलाई सेवा गर्न केही परे पुगिहाल्थे । व्यक्तिगत काम र पारिवारिक प्रगतिभन्दा अघि समाजसेवालाई राखेका उनको गत वैशाख १६ गते निधन भयो ।

समय यसरी बद्लियो कि अरुलाई सहयोग गर्ने श्रीस परिवारलाई नै सहयोग जरुरी भयो । जैमिनी नगरपालिका वडा नं. १० बागलुङका श्रीसको परिवारलाई सोमबार मनकारीहरुले ५२ हजार ५ रुपैयाँ सहयोग गरे । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको पहलमा यो रकम संकलन भएको हो ।

शर्माले श्रीसकी कान्छी छोरी नवीनालाई यो रकम हस्तान्तरण गरे । नवीनाका दिदी, भाइ र आमा छन् । मिमबहादुरका सन्तानलाई अध्ययनका लागि सहज होस् भन िसहयोग गरिएको शर्माले बताए । उनले भविष्यमा पनि समाजले सहयोग गर्ने आश्वासन दिँदै उज्ज्वल भविष्यको कामना गरे ।
फेमफिगस भल्गोरिस रोगबाट पीडित श्रीस ५२ वर्षका थिए । फेमफिगस भल्गोरिस छालासम्बन्धी रोग हो । यो रोग हजारौंमा १ लाई मात्र लाग्छ । यो रोग लाग्दा छाला उप्किने, नयाँ छाला पलाउने भएर शरीर नै डरलाग्दो हुन्छ ।

श्रीसलाई लामो समय गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार गराइएको थियो । आर्थिक अवस्था कमजोर रहेका श्रीसलाई उपचारकै क्रममा ठूलो रकम खर्च भएको थियो । उनले बागलुङको राङखानी गाउँको शैक्षिक विकासमा उल्लेखनीय योगदान गरेका छन् । समाजका अध्यक्ष शर्मा भन्छन्, ‘राङखानीको शैक्षिक विकासमा उहाँको अग्रणी भूमिका छ । उहाँले पोखरादेखि कम्प्युटर लगेर सिकाउनुभएको थियो ।’