ताजा समाचार

जेठ ५ गते २०७६

नगरपालिकाद्धारा गर्भवतीको घरमै भिडियो एक्स–रे सुविधा

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलालाई घर घरमै गर्भजाँच सेवा दिन थालेको छ ।

नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवास उपलब्ध गराएको हो ।

गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ ।

‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिनुभयो ।

एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ । सोहीअनुसार नपाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ ।

गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको नपा उपप्रमुख दनुवारले बताउनुभयो ।