करिडोर सडक बिस्तारमा सहयोग गर्न लेतेबासी एकमत

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नतिमा आवश्यक सहयोग पू¥याउन थासाङ गाउँपालिका लेतेका स्थानीयले राजी भएको आयोजनाका ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।

करिडोरको ११ मिटर सडक मापदण्डका बारेमा स्थानीयबासी संग शनिवार भएको बृहत छलफलमा गाउबासीले यस्तो बताएको ईन्जिनीयर प्रजापतिले उल्लेख गरे ।करिडोरले साविक सडकको मध्यभागबाट दाया–बाया ५.५ मिटर कायम गर्ने गरी सडक मापदण्ड कायम गरेको हो ।ईन्जिनीयर प्रजापतीले करिडोर सडक मापदण्डमा पर्ने गाउबस्तीका जनतालाई जानकारी गराएर सडक बिस्तार अघि बढाउने तैयारी गरेको खुलाए ।सडक मापदण्डबारेमा थासाङ गाउपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनसहितको उपस्थितीमा भएको गाउ भेलामा स्थानीयले मापदण्ड अनुसार काम गर्न अवरोध नपू¥याउने बचन दिएका हुन् ।

उनीहरुले सडक बिस्तारले मात्र जिल्ला समृद्ध हुने उल्लेख गर्दै बिकासका लागि आवश्यक सहयोग गर्न राजी भएको गाउलेहरुले जनाएका छन् । करिडोर सडक आयोजनाले बेनी–जोमसोम सडकमा मापदण्ड बारे स्थानीय स्तरमा पुगेर सहमति खोज्ने प्रयास गरेको हो ।यसअघि करिडोरको पहलमा मुस्ताङ सदरमुकाम जोमसोममा सरोकारवालाहरु संग छलफल गरिसकेको छ ।जोमसोममा पुनः प्रि सर्वे गर्ने सहमति भएपछि पुनः सर्वे गरिएको ईन्जिनीयर प्रजापतिले बताए ।करिडारले मुस्ताङको जोमसोममा १ वर्षअघि मापदण्ड रेजा लगाएको हो ।स्थानीयको आग्रहपछि सर्वे भएको र बिवाद समस्या सुल्झिएको उनले जानकारी दिए ।

करिडोरको मापदण्ड अन्तर्गत मुस्ताङको जोमसोममा धेरै घर टहरा पर्ने देखिएको छ ।यस्तै,स्याङ,मार्फा,कोवाङ,लेते र घासा लगायतका स्थानमा पनि केही घर टहरा मापदण्ड अन्तर्गत पर्ने ईन्जिनीयर प्रजापतिले उल्लेख गरे ।तर,मुस्ताङको थाक टुकुचेका सडक मापदण्ड बिचाराधिन अवस्थामा रहेको प्रजापतिले बताए ।थाक टुकुचेको सिरान टोलका २८ घर धुरी मापदण्डले बिस्थापित हुने देखिएपछि बैकल्पिक मार्गको अवधारणा उठेको छ ।स्थानीयले टुकुचे बस्ती बाहिरबाट सडक बिस्तार गर्न करिडोरलाई अनुरोध गरेका थिए ।यो समस्या सडक बिभाग सम्म पुगेकाले मन्त्रालयको निर्णय अनुसार टुङ्गो लाग्ने उनको भनाई छ । यस्तै करिडोरले म्याग्दी जिल्लामा पनि सडक मापदण्डबारेमा लगत सर्वेक्षण गरेको जनाईएको छ ।

आयोजनाले म्याग्दीका १ दर्जन गाउलाई सडक मापदण्डले छोएपछि त्यसको डाटा म्याग्दी प्रशासनमा बुझाएको ईन्जिनीयर प्रजापतिले जनाए ।उनका अनुसार म्याग्दीको बहुचर्चित तातोपानी कुण्डमा पनि सडक मापदण्डमा पर्ने देखिएको भएपनि हाललाई सोही अनुसार थाती राखेर अन्य स्थानमा मापदण्ड पहिचानको प्रक्रिया अघि बढेको उल्लेख गरे ।करिडोर आयोजनाले म्याग्दीमा पनि स्थानीय स्तरमा छलफल अघि बढाउने जनाएको छ ।