ताजा समाचार

जेठ ४ गते २०७६

गर्मीमा लाग्न सक्ने केही रोग, लक्षण र बच्ने उपाय

गर्मी सुरु भएपछि शरीरमा धेरै प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । वातावरणको तापक्रम बढ्न थालेपछि यसले मानिसलाई प्रत्यक्ष असर पार्दछ । यसबेला कीटाणु पनि त्यतिकै सक्रिय हुने भएकाले संक्रामक रोगहरु फैलिने सम्भावना पनि त्यतिकै रहन्छ । गर्मीमा लाग्न सक्ने केही खास रोग, यसका लक्षण र बच्ने उपाय यसप्रकार छन् :

दादुरा

दादुरा कीटाणुबाट हुने एक संक्रामक रोग हो । विशेषतः गर्मीमा भाइरस बढी सक्रिय हुने भएकाले गर्मीमा यसका बिरामी बढी देखिन्छन् । विशेषतः बालबालिकामा यो रोग बढी लाग्दछ । यो रोग लागेमा रोगीलाई ज्वरो आउँछ । नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, मुख तथा गर्दनमा बिमिरा देखिने यसका लक्षण हुन् । बिमिरा बढ्दै गएर शरीरभरि नै फैलिन सक्छ । बिमिरा ५, ६ दिन पछि हराएर जान्छ ।

यो रोग लागेको कतिपयलाई १४ देखि १८ दिनपछि ठीक हुन्छ । तर, यसको सही निदान भएन भने रोगीको मृत्युसम्म हुन सक्छ । दादुराबाट बच्न भिटामिन ए प्रमुख उपाय हो । कुपोषणबाट ग्रस्त बालबालिकामा यो रोग बढी लाग्ने भएकाले यसबाट बच्न पोषणयुक्त खानामा ध्यान दिनुपर्छ ।

जन्डिस

जन्डिस पनि कीटाणुबाट फैलिने रोग हो । यो कलेजोबाट सुरु भई शरीरभरि नै फैलिन्छ । यो रोग लागेपछि रोगीको आँखाको सेतो भाग पहेँलो हुँदै जान्छ । पिसाब पनि पहेँलो हुन्छ र शरीर निकै कमजोर हुन्छ । यसबाहेक, टाउको दुख्नु, भोक नलाग्नु, शरीर भारि हुनु, आदि यसका लक्षण हुन् । रोगीलाई कहिलेकाहिँ उल्टी पनि हुन सक्छ । त्यस्तै, पातलो दिसा आउनु, पेट फुल्नु, निद्रा नलाग्नु, शरीर धेरै चिलाउनु आदि यसका लक्षण हुन् ।

यसबाट बच्न प्रशस्त मात्रामा शुद्ध पानी पिउनुपर्छ । यसको कीटाणु हावाको माध्यमले फैलिने भएकाले रोगीलाई विशेष निगरानीमा राख्नुपर्ने हुन्छ । यो रोग लागेका रोगीको कलेजोमा ग्लाइकोजिन र प्रोटिनको मात्रा कम हुने भएकाले हल्का प्रोटिनयुक्त आहार गर्नु राम्रो हुन्छ । यो रोग लागेपछि चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।

ठेउला

गर्मी महिनामा धेरै मानिसलाई ठेउलाले सताउन सक्छ । यो रोग लागेपछि ठीक हुन १०–१५ दिन लाग्न सक्छ । यो पनि हावा, पानी आदिबाट सर्ने एक संक्रामक रोग हो । यो रोग लागेपछि शरीरमा दाग पनि बस्छ । दाग निख्रिन करीब ५, ६ महिना लाग्न सक्छ । यसको सही निदान नभएमा व्यक्तिको मृत्यु पनि हुन सक्ने भएकाले रोगीलाई विशेष ध्यान दिनुपर्छ । यो रोग लागेका व्यक्तिको शरीरमा रातो फोका देखा पर्छ । रोगीलाई ज्वरो आउने, शरीर दुख्ने, उल्टी हुने, शरीर चिलाउने आदि हुन्छ ।

यो रोग लागेका बिरामीलाई रुखो खानेकुरा पटक्के दिनुहुँदैन । यो रोग पनि चाँडै फैलिने हुनाले बिरामीलाई बाहिर हिँडडुल गर्न नदिई विशेष निगरानीमा राख्नुपर्छ । यो रोग बिग्रिन थालेमा तत्काल चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । 

हाडे

हाडे वा गलफुलोस र्‍याल ग्रन्थीको संक्रमण हो । र्‍याल ग्रन्थीको एकातर्फ वा दुवैतर्फबाट सुन्निनु यसको मुख्य लक्षण हो ।  हाडे आउँदा ज्वरो आउने, भोक नलाग्ने, टाउको दुख्ने, कान र घाटी दुख्ने आदि हुन सक्छ । यो मुख्यतः बालबालिकामा बढी लाग्छ । यो भाइरस माथिल्लो श्वास प्रणालीमा रहन्छ । प्रत्यक्ष सम्पर्क वा खोक्दा, बोल्दा मुखबाट निस्किने स-साना पानीका कणको माध्यमले एकबाट अर्कोमा फैलन्छ । कहिलेकाहीं यो फैलेर अण्डकोष, अण्डग्रन्थी, अग्नाशयलाई समेत प्रभावित पार्न सक्छ ।

हाडेको संक्रमण सामान्यतया एक व्यक्तिको जीवनमा एकपटक मात्र हुन्छ । यसपछि व्यक्ति जीवनभर यसको प्रतिरोधी (इम्युन) हुन्छ । उसलाई सामान्यतया यो रोगको भाइरसले फेरि प्रभावित पार्न सक्दैन । एकपटक हाडे देखिसकिएका व्यक्तिलाई पुनः यो संक्रमण हुँदा भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

हाडे, मिजिल्स र रुवेलाविरुद्धको एमएमआर भ्याक्सिन बालबालिकालाई १२ देखि १५ महिनाको हुँदा पहिलोपटक दिइन्छ । बालक ४ देखि ६ वर्ष हुदा दोश्रो मात्रा दिइन्छ । हाडे आएमा बरफले सेक्ने र नुनपानीले कुल्ला गर्नुका साढे नरम आहार लिनुपर्छ ।

त्यस्तै, गर्मीमा  टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिस आदि रोग लाग्ने सम्भावना पनि त्यतिकै रहने भएकाले यी रोगबाट बच्न स्वच्छता र आहारविहारमा विशेष ध्यान दिनु आवश्यक छ ।