ताजा समाचार

जेठ ४ गते २०७६

तपाई मुटु रोगी हुनुहुन्छ ? यी कुरा अपनाउनुस्

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ।किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ। बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि।

मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ। तलबाट आउने नसाले फोहर रगत लिएर आउछ। यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ। फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ। मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ। भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ । उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ।

मुटु रोगहरु

मुटुरोग दुई किसिमका हुन्छन्। एउटा जन्मजात र अर्को वयस्कमा हुने मुटुरोग। जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरक फरक हुन्छन्। उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण फरक हुन्छ।

जन्मजात मुटुरोगमा पिडीय भन्ने हुन्छ। जहाँ अक्सिजनको मात्रा कमी हुन्छ, त्यहाँ पिडियको समस्या हुन्छ। नेपालमा पिडियको समस्या अन्य देशमा भन्दा बढी छ। अर्को बाथ ज्वरो बिग्रीएर मुटुको भल्भहरु खराब हुने समस्या धेरै छ। जुन नेपालमा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ। विकसित देशहरुमा त यो समस्या निर्मुल नै भइसकेको छ।

कर्नरीआरटीडिजिज भनेको मुटुमा रक्तसञ्चार गर्ने नलीहरु बन्द हुने समस्या हो। जसले कालान्तरमा हृदयघात गराउँछ। यो खानपान र जीवनशैलीको कारणले हुन्छ। यो वंशानुगत पनि हुन्छ तर बढी मात्रामा खानपान र जीवनशैलीबाट नै हुन्छ।

खानपान बढी मात्रामा गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा यस्तो हुन्छ। मोटोपना धेरै भएकाहरु, धुम्रपान र मद्यपान धेरै गर्नेहरुलाई यो समस्या हुन्छ। थोरै मद्यपान गर्नेहरुलाई यो समस्या हुँदैन तर अत्याधिक मात्रामा मद्यपान गर्नेहरुलाई यो समस्या हुनसक्छ।

सुगर र प्रेसर नियन्त्रण नगर्नेहरुलाई पनि यो समस्याले सताउँछ। यसको औषधी नियमित नखाने र यसलाई नियन्त्रणमा पनि नराखे मुटुको नली बन्द हुन्छ। जसले गर्दा हृदयघात हुनसक्छ। शरीरमा कोलस्टोरको नियन्त्रण भएन भने पनि यसले समस्या निम्त्याउँन सक्छ।

मुटु स्वस्थ राख्ने कसरी राख्ने ?

शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ । यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरु सकेसम्म खान भएन ।कार्वोहाइड्रेट बढि हुने भात आलु गुलियो पदार्थहरु कम खानुपर्छ।

धुम्रपान र मद्धपानबाट टाढा रहनुपर्छ। चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ।नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ।

विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरुले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ।

दौडादौडको दैनिकीले मानिसलाई भागिरहने(दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।