ताजा समाचार

जेठ ३ गते २०७६

सार्वजनिक स्थलको संरक्षण गर्न सरोकारवालाविच छलफल

सयपत्री समाज कास्कीले पोखरा महानगरपालिकाको सार्वजनिक खुल्ला स्थान र यसको उपयोेग बारे अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा रामजी प्रसाद पोखरेल र प्रा.डा. कृष्ण के.सी.ले करिव छ महिना लगाएर सम्पन्न गरेको अनुसन्धानको प्रतिवेदनको सार प्रस्तुत गर्दै पोखराको शहरी क्षेत्रमा सार्वजनिक क्षेत्र साँघुरिदै गएको र चौतारा, पोखरी, पाटी आदि क्रमशः घट्दै ह्रास हुने स्थिति सिर्जना भएको बताए ।

प्रतिवेदन माथि टिप्पणी गर्दै प्रा.डा. देवेन्द्र बहादुर लामिछानेले पहिले सार्वजनिक स्थललाई छोडेर आवास निर्माण गरिन्थ्यो तर अहिले विभिन्न तवरले सार्वजनिक स्थानको अतिक्रमण गर्ने प्रवृत्ति बढेको विचार व्यक्त गर्नु भयो । वडा नं. ३१ का वडाअध्यक्ष कमल थापाले सार्वजनिक स्थानको संरक्षणका लागि पोखरी, पार्क आदि निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

शान्तीका लागि नगारिक समाजको सञ्जालका विष्णु प्रसाद बरालले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले विज्ञहरुको सहयोगका विशेष गुरुयोजना निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्वती कार्की, ठान बहादुर क्षेत्री, प्रा.डा.उमनाथ बराल, गिता नेपाली, प्रा.डा. लेखनाथ भट्टराई, राधाकृष्ण लामिछाने, अमृत कुमार भण्डारी लगायतले सार्वजनिक स्थलको महत्व बारे चर्चा गर्नु भएको थियो ।

समाजका अध्यक्ष गेहेन्दे्रश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधि, नागरिक समाजका सदस्य, प्राध्यापक, कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।