ताजा समाचार

जेठ ३ गते २०७६

क्याम्पसमा तोडफोड, स्ववियु सभापतिसहित ९ पक्राउ

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकै नेतृत्वमा तोडफोड भएको छ ।
कर्मचारी भर्नाका लागि शुक्रबार क्याम्पसले लिखित परीक्षा लिइरहेका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । तोडफोडबाट क्याम्पसका केही कोठाको झ्यालका सीसा फुटेका छन् ।

क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभण्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि ताला लगाएको थियो । नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो ।

क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी थिइन । सभापती ऐरले आफ्नी श्रीमतीलाई नियुक्त गर्न क्याम्पस प्रमुखलाई दबाब दिएको तर नमानेपछि आन्दोलन सुरु गरेको आरोप लागेको छ ।