ताजा समाचार

जेठ २ गते २०७६

मदन भण्डारी : कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ। मूख्यतः कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण सङ्घर्षको बाटोमा डो¥याउँदै समाजवाद हुँदै साम्यवाद पु¥याउने मान्यताका साथ अघि सारिएको थियो, जनताको बहुदलीय जनवादको कार्यक्रम।

सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता कमरेड मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम ग¥यो। पार्टीभित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक सङ्घर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिए। नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन ग¥यो।

पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा देशी बिदेशी साँठगाँठकाकारण दासढुंगामा भण्डारीको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो। २०५० साल जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा अप्रिय घटना घट्यो। कम्युनिष्ट आन्दोलनमा शान्तिपूर्ण धाराका एक चिन्तक भण्डारीको दुर्घटनामा परी मृत्यु भयो। यद्यपि, भण्डारीको अवसान आकस्मिक दुर्घटना हो वा षड्यन्त्रपूर्ण हत्या ? यो विषय भने आजसम्म बहसमै छ।

जननेता मदन भण्डारीको जन्म पूर्वी पहाडको ताप्लेजुङमा पिता देवप्रसाद भण्डारीका माइलो छोरोका रूपमा शिक्षित परिवारमा २७जुन, १९५२ मा भएको हो। भण्डारी ताप्लेजुङमा सामान्य पढाइ सकेपछि आचार्यसम्म र एमए गर्न बनारसविश्वविद्यालय पुगे। भण्डारीले २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका थिए। उक्त विश्वविद्यालयमा कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ लगायतका धेरै नेपाली नेताहरुले पढेका थिए।

भोजपुरमा पाण्डे परिवारमा जन्मिएकी विद्यादेवी भण्डारी मोरङमा अध्ययनका साथै पार्टीको काम गर्थिन्। विद्या पार्टी काम, विद्यार्थी संगठन र महिला संगठनको जिम्मेवारीमा रहेर स्थानीय कमिटीमा सक्रिय थिइन्। त्यही बेला भूमिगत अवस्थामै मदन भण्डारी र विद्यादेवी पाण्डेबीच जनवादी विवाह सम्पन्न भएको थियो। पार्टी काममा सहयोग पुग्ने देखेर तात्कालीन माले नेताहरुले भण्डारी र पाण्डेबीच जनवादी विवाह गरिदिएका थिए। उनकी धर्मपत्नी विद्यादेवी भण्डारी अहिले दोस्रो कार्यकालका रुपमा नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी छिन्।

बनारसको विद्यार्थी जीवनमा नेपालका पूराना नेता र विशेषगरि भारतका समाजवादी नेता,कम्युनिस्ट नेताहरु ज्योति बासु,तत्कालीन भाकपाका नेता हरिकिंशु सुरजीत र नेपाली नेताहरु कमरेड पुष्पलालश्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, नर बहादुर कर्माचार्य, बीपी कोइराला, साहना प्रधानसँगको सम्पर्कले भण्डारीलाई नेपालमा आमूल परिवर्तनको यात्रामा लाग्न उनलाई अभिप्रेरित ग¥यो। त्यसै कारण भण्डारी राजनीतिक आन्दोलनमा होमिए र अन्ततः पञ्चायतविरोधी सङ्घर्षका लागि भूमिगत भए।

त्यसबेला भारतमा चरम गरीबी थियो। जनतामा प्रजातान्त्रिक शक्तिप्रतिको निरासा र आक्रोश बढ्दो थियो। त्यसकारण कम्युनिष्ट पार्टीप्रति लोकप्रियता बढ्दै जान थालेको थियो। त्यसबाट भण्डारीमा राजनीतिक परिवर्तन र देशभक्तिपूर्ण आन्दोलनप्रति नयाँ जागरण पैदा भयो। त्यही उर्जा बोकेर उनी नेपालको राजनीतिक आन्दोलनमा होमिएका थिए।

भण्डारी नक्सलवादी आन्दोलन, तत्कालीन झापा सशस्त्र विद्रोह हुँदै पुष्पलालले खोलेको विद्यार्थी मोर्चाको केन्द्रीय समिति सदस्य भए। १९७२ अर्थात् २०२८ सालमा बानारस विश्वविद्यालयमा पढ्न जाँदाको समयमा नै उनी वामपन्थी राजनीतितर्फ आकर्षित भएका थिए। उनी पढाइमा अत्यन्त तेजिला थिए। भण्डारी पार्टीभित्र बौद्धिक कर्मका साथै संगठनमा पनि उत्तिकै रुचि राख्दथे। उनी कवि र गीतकार पनि थिए। भण्डारीका दर्जनौं जनवादी गीत प्रकाशित छन्। भूमिगत समयमा उनले दर्शन, राजनीति र सामयिक विषयमा प्रशस्तै बौद्धिक लेखहरु लेखेका छन्।

वि.सं. २०२७–२०२८ सालतिर चरम गरीबी,पञ्चायतको हुकुमी शासन, सामन्तहरुको शोषण, किसान र मजदुरमाथि चरम दमनको अवस्था थियो। त्यही बेला तेह्रथुमबाट भर्खरै झापा झरेका खड्गप्रसाद ओली, रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन्द्र राजवंशी, मण्डल सतार, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, जीवन घिमिरे, झलनाथ खनाल लगायतका नेताहरुको नेतृत्वमा सशस्त्र सङ्घर्ष सुरु भयो। जमिन्दार चन्द्रप्रसाद ढकाल लगायतका केही व्यक्तिलाई किसानमाथि चरम शोषण गरेको अभियोगसहित हत्या गरियो।

त्यसबेला विद्रोह निकै क्रान्तिकारी जोशका साथ अघि बढ्यो। सामन्त, जाली, फटाहाहरुको टाउको गिँड्ने, जमिनको उत्पादन किसानलाई बाँड्ने, उदार सामन्तहरुलाई किसानको पक्षमा उभिन चेतावनी दिनेसम्मका कामहरु त्यस अवधिमा भए। जाली र नक्कली तमसुकहरु जलाइयो। जमिन्दारको जमिन किसानहरुलाई बितरण गर्ने काम भयो। तर, संगठन बलियो थिएन, जनतामा पर्याप्त राजनीतिक जागरण थिएन, पञ्चायती दमन चरम थियो। त्यसकारण विद्रोहले अपेक्षित सफलता भने हासिल गर्न सकेन।

कमरेड मोहनचन्द्र अधिकारी, खड्गप्रसाद ओली, चन्द्रप्रकाश मैनाली, राधाकृष्ण मैनाली, रामनाथ दाहाल लागायत धेरै जना नेताहरु पञ्चायती शासकद्वारा गिरफ्तारीमा परे। वि.सं. २०२८ फागुन २१ गते जेल सार्ने बहानामा रामनाथ दाहाल, वीरेन्द्र राजवंशी लगायतलाई झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा हत्या गरियो। अरु नेताहरुलाई जेलमा राखेर चरम यातना दिइयो। तर, सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा लगायतका नेताहरु जेल ब्रेक गरेर बाहिर निस्किए। नेपालको राजनीतिक आन्दोलनको इतिहासमा मोहनचन्द्र अधिकारी १७ वर्ष लामो जेल बसे।

देशभरि पञ्चायती दमन बढ्दै गयो। २०३३ को आसपासमा तात्कालीन कोओर्डिनेशन केन्द्र संगठन बिस्तारतिर लाग्यो। २०३५ सालमा नेकपा (माले) गठन भयो। त्यही बेला मदन भण्डारी तात्कालीन मालेको राजनीतिमा सक्रिय भए। पार्टी भूमिगत थियो, शीर्ष नेताहरु सबै जेलमा थिए। त्यस्तो चुनौतिपूर्ण परिस्थितिमा भण्डारीले मालेको संगठनात्मक जिम्मेवारी लिने र आन्दोलनको नेतृत्व गर्ने काम गरे। त्यसपछि भण्डारीले लगातार पञ्चायतविरोधी आन्दोलनको नेतृत्व गरिरहे। अन्ततः सफल वैचारिक र संगठनात्मक नेतृत्वका कारण उनले कम्युनिष्ट आन्दोलनमा राजनीतिक प्रतिस्पर्धाको नयाँ सिद्धान्त प्रतिपादन गरे।

भण्डारी आफ्नो सिद्धान्तमा दृढ रहन्थे। उनले पार्टी र देशको स्वार्थ नै सबैभन्दा माथि राखेर हेर्ने गर्दथे। राजालाई श्रीपेच फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउन गरेको आब्हानले लोकतान्त्रिक शक्तिहरुबीच पनि भण्डारी लोकप्रिय हुँदै गए। उनी सामान्य जीवनशैली रुचाउँथे। पार्टीको शक्तिशाली महासचिव भएको अवधिमा पनि उनी डेरामै बस्थे। उनी दार्शनिक, वैचारिक, राजनीतिक अध्ययनमा रुचि राख्दथे। नेपाली समाजको व्यवहारिक अध्ययनमा उनी तल्लीन थिए। कार्यकर्ता र जनताबीच छिट्टै घुलमिल हुनसक्ने भण्डारीको स्वाभाव थियो।

मदन भण्डारी विभिन्न ध्रुवमा रहेका कम्युनिष्टहरुको एकता जरुरी ठान्दथे। नेकपाका अध्यक्ष प्रचण्डकै शब्दमा तात्कालीन एमाले र नेकपा (एकता–केन्द्र) बीच पार्टी एकताका विषयमा छलफल गर्ने मिति निर्धारण गरिएको थियो। तर, तोकिएको मितिपूर्व नै भण्डारीको निधन भयो। मूख्यतः उनले अघि सारेको बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण सङ्घर्षका आधारमा समाजवाद जाने प्रस्ताव नेपाली कम्युनिष्ट आन्दोलनमा बहसको विषय बनिरह्यो। २०६० सालमा तात्कालीन विद्रोही माओवादीले पनि प्रतिक्रान्ति रोक्न राजनीतिक प्रतिस्पर्धाको नयाँ प्रस्ताव अघि सा¥यो। भण्डारीको प्रस्ताव खुला प्रतिस्पर्धा र माओवादीको प्रस्ताव सामन्तवाद, साम्राज्यवादविरोधी शक्तिसँग प्रतिस्पर्धा थियो। सारमा केही अन्तर भए पनि दुवै प्रस्तावले नेपालका ठूला २ कम्युनिष्ट पार्टीबीच एकताको वैचारिक आधार प्रदान ग¥यो।

अघिल्लो वर्ष आजकै दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा भयो। पार्टी एकताको घोषणासँगै समाजवादी क्रान्तिको नयाँ यात्रा तय गरिएको छ। एकीकृत नेकपाले भण्डारीले अघि सारेको बहुदलीय जनवाद र माओवादीले अघि सारेको माओवादले आजसम्मका उपलब्धि हासिल भएको निष्कर्ष निकाल्दै समाजवादका लागि नयाँ वैचारिक मार्गदर्शन आवश्यक पर्ने निष्कर्ष निकालेको छ। यद्यपि, समाजवादी क्रान्तिको नयाँ वैचारिक मार्गदर्शनबारे सघन बहस हुनसकेको छैन।

मदन भण्डारी एक सुप्रसिद्ध सिद्धान्तकार, राजनीतिज्ञ, लेखक र संगठक पनि हुन्। नेपालको कम्युनिष्ट आन्दोलनको शान्तिपूर्ण यात्रामा भण्डारीको निकै ठूलो योगदान रहेको छ। उनले कम्युनिष्ट आन्दोलन निष्ठाको आन्दोलन पनि हो भन्ने तथ्य व्यवहारद्वारा प्रमाणित गरेका छन्। आज भण्डारीको अवसान भएको २६ वर्ष बितिसकेको छ। जननेता भण्डारीलाई हाम्रो पनि भावपूर्ण श्रद्धासुमन ।