शिक्षकले सार्वजनिक जग्गा कब्जा गरी रोके दलित युवाको बाटो

नेपालमा जातीय विभेद दण्डनीय बनेको छ दशक नाघिसक्यो । मुलुक ऐन २०२० ले पहिलो पटक यस्तो व्यवस्था गरेको थियो । नेपालको संविधान (२०७२) को धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरिएको छ । तर व्यवहारमा भने यो भेदभाव र थिचोमिचो अझै जारी छ ।

यसकै एउटा उदाहरण पोखरा महानगरपालिका वडा नम्बर १८, अर्मजामा देखिएको छ । यहाँका स्थानीय शिक्षक गणेश थापा, स्थानीयहरु रामबहादुर थापा, विष्णुमाया थापा र अम्बिका थापाले एक दलित युवालाई सार्वजनिक जमिन कब्जा गरी बाटो बन्द गरिदिएका छन् । अझ उदेकलाग्दो पक्ष त के छ भने सार्वजनिक जमिन कब्जा गर्न वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाकै साथ देखिएको छ ।

शिक्षा र चेतनाको ज्योति छर्नुपर्ने शिक्षकले नै सार्वजनिक जग्गा कब्जा गरी बाटो रोकिदिए, महानगर, प्रशासनले जग्गा खाली गर्न भने पनि वडा कार्यालयले गरेन । गरिब, दलित, पहुँच नभएकाले नेपालमा केही गर्नै नपाउने हो त ?’ –चन्द्रबहादुर नेपाली

पोखरा–२४ घर भएका युवा चन्द्रबहादुर नेपालीले थापाको घर नजिकै रहेको आफन्तको करिब आठ रोपनी जग्गा भाडामा लिएर रेस्टुरेन्टका लागि भवन बनाउन थालेका थिए । भाडामा लिएको जमिनअघि सडकसँग जोडिएको जग्गा र अर्काे घुमाउरो बाटो दुवैतिर थापा परिवारले बन्द गरिदिएपछि नेपाली अप्ठेरोमा परेका हुन् ।

अर्मजामा रहेको गणेश थापाको घर र घरपछाडि थापा परिवारले अतिक्रमण गरेको १५२ कित्ता नम्बरको सार्वजनिक जग्गा ।

५ वर्ष जापानमा रोजगारी गरी कमाएको रकम लगानी गरी बनाएका संरचना भत्किने अवस्थामा पुगिसकेको छ । अर्मजामा सिडाँडा होमस्टे चलाउने लक्ष्य लिएरका नेपालीले त्यहाँ ६० लाखभन्दा बढी खर्च भइसकेको सुनाए । ‘जापानमा दुःख गरेर कमाएको जति खर्च भइसक्यो, सार्वजनिक जग्गै कब्जा गरेर बाटो बन्द गरिदिएपछि म बाच्नु न मर्नुको अवस्थामा पुगेको छु,’ उनले भने ।

घरमै पनि सानो स्तरको फार्म चलाएका नेपालीसँग अर्मजामा स्थानीय उत्पादन बेच्ने गरी रेस्टुरेन्ट र होमस्टे चलाउने योजना छ । ३४ वर्षीय नेपालीले संरचना बनाउन थालेकै ५ वर्ष भइसक्यो । वार्षिक दुई लाख भाडामा लिएको जग्गाको भाडा नै १० लाख खर्च भइसकेको छ ।

सार्वजनिक जग्गामा थापा परिवारले लगाएको बार । जहाँ पहिले सार्वजनिक कुलो र स्थानीय हिड्ने गोरेटोसमेत थियो ।

नेपालीले रेस्टुरेन्ट चलाउने बेला उनको जग्गा अगाडिको जग्गा खाली थियो । त्यहाँबाट केही सामान लगेपछि गणेश थापाले बाटो बन्द गरिदिए । कुलबहादुर खड्काको नाममा रहेको यो जग्गा आफ्नो भएको दाबी गर्दै थापा परिवारले काँढेतार लगाइदियो । अर्काे घुमाउँरो बाटो पश्चिमपट्टि थियो ।

पश्चिमपट्टिको सार्वजनिक जग्गा रहेको कित्ता नम्बर १५२ मा पहिले कुलो पनि थियो । थापा परिवारले नेपालीलाई काम गर्न नदिन सार्वजनिक जग्गैमा मकै रोपिदिए । रातारात तारबार गरिदिए ।

पश्चिमपट्टिको सार्वजनिक जग्गा रहेको कित्ता नम्बर १५२ मा पहिले कुलो पनि थियो । थापा परिवारले नेपालीलाई काम गर्न नदिन सार्वजनिक जग्गैमा मकै रोपिदिए । रातारात तारबार गरिदिए । यसरी बाटो बन्द गरी दलित युवालाई काम गर्न नदिने प्रपञ्च भएपछि नेपाली बारम्बार वडा कार्यालय पुगे ।

वडाध्यक्ष तिमिल्सिनाले भेटनै नदिने, वास्तै नगर्ने गरेपछि नेपालीले अख्तियार र पोखरा महानगरमा निवेदन दिए । नगरपालिकाले अमिन पठाएर जग्गा नापजाँच गर्दा थापा परिवारले कब्जा गरेको जग्गा सार्वजनिक नै भएको देखियो । अख्तियारले सरोकारवालालाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचारसमेत गरेको थियो । तर न थापा परिवारले बाटो खोलिदियो, न वडा कार्यालयले नै त्यसका लागि पहल ग¥यो ।

अर्मजामा चन्द्रबहादुर नेपालीले बनाउँदै गरेको रेस्टुरेन्टको भवन ।

नेपाली भौतारिएर हिडेको चार वर्ष नाघिसक्यो, अझै समस्या सुल्झिएको छैन । ‘म नियम, कानुन पालना गरेर देशमै केही गर्न चाहन्छु,’ उनी भन्छन्, ‘तर यहाँ त शिक्षा र चेतनाको ज्योति छर्नुपर्ने शिक्षकले नै सार्वजनिक जग्गा कब्जा गरी बाटो रोकिदिए, महानगर, प्रशासनले जग्गा खाली गर्न भने पनि वडा कार्यालयले गरेन । गरिब, दलित, पहुँच नभएकाले नेपालमा केही गर्नै नपाउने हो त ?’

‘त्यसकै लागि मैले बाटो दिनैपर्छ भन्ने के छ ? यहाँ सयौंले जग्गा कब्जा गरेका छन्, मेरोमात्रै देख्ने ?’ गणेश थापा

शिक्षक थापाले भने कुनै एक जनाका लागि छुट्टै बाटो दिन कर नलाग्ने दाबी गरे । उनले भने, ‘त्यसकै लागि मैले बाटो दिनैपर्छ भन्ने के छ ? यहाँ सयौंले जग्गा कब्जा गरेका छन्, मेरोमात्रै देख्ने ?’ वडा कार्यालयले करिब १० रोपनी क्षेत्रफल रहेको कित्ता नम्बर १५२ मा थापा परिवारको वर्षाैंदेखि भोगचलन रहेको पत्र पठाएको छ । जबकि दुई, तीन आना बाटोमा पर्ने जमिनबाहेक अरु अहिले पनि बाँझै छ ।

वडाध्यक्ष तिमिल्सिनाले भने, ‘वडाले प्रशासनको, अख्तियारको पत्र पाएको छैन, हटाउनु भन्ने पत्र पाए हामी हटाइहाल्छौँ ।’

यता, वडाध्यक्ष तिमिल्सिनाले भने थापा परिवारले भोगचलन गरेकैले भोगचलन गरेको भनी पत्र लेखेको दाबी गरे । यद्यपि २०८० अघिको गुगल म्यापमा समेत त्यो ठाउँ खाली देखिन्छ । वडाध्यक्ष तिमिल्सिनाले भने, ‘वडाले प्रशासनको, अख्तियारको पत्र पाएको छैन, हटाउनु भन्ने पत्र पाए हामी हटाइहाल्छौँ ।’ त्यो जमिन नाप्न र हेर्न बारम्बार गएका वडाध्यक्ष तिमिल्सिनाले महानगर र जिल्ला प्रशासनको निर्देशन आउँदासमेत सार्वजनिक जमिन खाली नगरी अतिक्रमणलाई नै बढावा दिएका छन् ।