ताजा समाचार

जेठ २ गते २०७६

तालमा डुबेका किशोरको शव नौं महिनापछि निकालियो

सोलुखुम्बुको गोक्यो तेस्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव नौं महिनापछि फेला परेको छ । 

विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिएका छन् । अब शव भेट्न बाँकी एक जनाको खोजी भइरहेको छ । 

हिजोदेखि नै खोजी शुरु गरेको टोलीले आज बिहान शव बाहिर निकालेको हो । बराइली साथीको उद्धार गर्न जाने क्रममा शरीरमा लगाएको कपडासहित डुबेका थिए । त्यसै आधारमा उनको पहिचान गरिएको हो । बेपत्तामध्ये अब पेम्बा दोर्जी शेर्पाको शव मात्र भेट्न बाँकी रहेका खोजीमा संलग्नले जनाएका छन् । 

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो ।

गएको असोजमा खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शव खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो ।

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तेस्रो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गएको साउनमा बेपत्ता भएका थिए । बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराइरहेका थिए ।