ताजा समाचार

जेठ २ गते २०७६

कञ्चनजंघा हिमाल चढ्न गएका दुई भारतीयको मृत्यु ,एक जना बेपत्ता

कञ्चनजंघा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ।

आरोहण गर्न गएका दुई पर्वतारोही भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुन सक्ने अनुमान गरिएको छ ।

उनीहरू पिक प्रमोसनबाट हिमाल आरोहणमा गएका थिए। नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जनाले सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाण्डु ल्याइने कम्पनीले जनाएको छ । हराएका रोडरीगोको खोजी भइरहेको छ ।