ताजा समाचार

जेठ २ गते २०७६

खानेपानीको हाहाकार

स्याङ्जाको बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँको दलित बस्तीमा खाने पानीको हाहाकार भएको छ ।

नागास्थान धाराबाट एक गाग्री पानी ल्याउन एक घण्टाको बाटोमा २५ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको समस्या भएको हो ।

एक घण्टाको बाटोमा पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेको ३६ वर्षीया सन्सारी बिकले गुनासो गरिन् ।

बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको मुक्तबहादुर बिकको गुनासो छ ।

लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।

बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताए ।