ताजा समाचार

जेठ १ गते २०७६

अन्नपूर्ण गापाले ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्दै

कास्कीको अन्नपूर्ण गाउँपालकाले ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ ।

व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो ।

चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

गाउँपालिकाले कृषकलाई वितरण गर्नका लागि धनकुटा पाख्रीबासबाट पाँच हजार एबोकार्डो, दुई हजार सुन्तलाका बिरुवा ल्याएको छ । त्यस्तै १० हजार कुरिलो, चार हजार लप्सी, १० हजार तेजपत्तालगायतका बिरुवा गाउँपालिकाको नर्सरीबाटै उत्पादन गरेको उनले जानकारी दिए ।